• १४ पुस २०८१, आइतबार

युद्ध पृष्ठभूमिका कथाको बाहुल्य

blog

नेपाली साहित्यमा डा. राजुबाबु श्रेष्ठले समयक्रममा कवितामा भन्दा कथा र गीत लेखनतर्फ उम्दा साहित्यकारको छवि बनाउन सफल भएका छन् । पेसाले उनी नेपाल प्रहरीमा सम्बद्ध भएका कारणले पनि हुन सक्छ, उनले खासगरी कथाकारिताका क्षेत्रमा आफूलाई युद्ध कथाकारका रूपमा चिनाउन सफल भएका छन् । श्रेष्ठको भर्खरै प्रकाशित कथाकृति ‘बेनामे जर्नेल’का कथाले पनि उनलाई युद्ध कथाकारकै रूपमा थप परिचित गराउन बल पु-याएको छ ।

‘बेनामे जर्नेल’भित्र जम्मा १५ वटा कथा सङ्गृहीत छन् । यी कथामा केही विदेशी पृष्ठभूमिका छन् भने केही आफ्नै देश परिवेशका छन् । शीर्षक कथा ‘बेनामे जर्नेल’ सङ्ग्रहको तेस्रो कथा हो ।

युगोस्लाभियाको विभाजनपछि उत्पन्न तनावलाई साम्य पार्न संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शान्ति मिसनमा खटिएर सर्बिया पुगेका श्रेष्ठले सर्बिया र क्रोएसियाको पृष्ठभूमिमा तत्कालीन वस्तुस्थितिको चित्रण गरेको यो कथा उत्कृष्ट युद्धकथाका रूपमा आएको छ । युद्धको भुमरीमा परेको क्षेत्रको एक परिवारको कथा भए पनि यसले सिङ्गो गृहयुद्धको मनोदशालाई उजागर गरेको छ । 

‘जङ्गे पिल्लर’ सङ्ग्रहको पहिलो कथा हो । पर्सा जिल्लाको ओरिया खोलामा अवस्थित दुई देशबीचको सीमाक्षेत्रमा पारिपट्टिबाट हुने नदीजन्य पदार्थको तस्करी र रातारात जङ्गे पिल्लर उखेलेर अतिव्रmमण गर्ने छिमेकीविरुद्ध वर्षौंदेखि लड्दै आएका र सीमा सुरक्षार्थ भिड्दा ज्यान गुमाएका गाउँलेको राष्ट्रप्रेमलाई एउटा सुरक्षाकर्मीको कलमले उतारेको यथार्थपरक कथाले भित्रैदेखि उद्वेलित बनाउँछ ।

‘यमलोकमा शहीदहरू’ स्वप्न पृष्ठभूमि खडा गरेर लेखिएको कथा हो र यसमा पछिल्लो समयमा आएर सहिद शब्दलाई नै अपमानबोध हुने गरी गरिएको सहिदको लस्कर घोषणालाई लिएर व्यङ्ग्य गरिएको छ । खासगरी तराईको जनजीवनमा छोरीलाई बोझको रूपमा लिने गरेको सन्दर्भमा सिर्जित कथा ‘छोरीको बोझ’ र ‘मुर्दाघरबाट’ ले दुई भिन्न परिस्थिति देखाएका छन् ।

‘बिहे नभएको लाग्ने’ र ‘बाबुसाहेबको छोरा’ कथा पनि दाइजो, मायाप्रेम, समर्पण र विद्रोहकै सेरोफेरोमा छन् । ‘झ्यालको चेपबाट’ शारीरिक आकर्षणले उब्जाएको मनोदशा र ‘फेब्रुअरी १४’ पूर्वमाओवादी लडाकुबीचको पुनर्मिलनको कथावस्तुमा केन्द्रित छन् । 

अर्को कथा ‘गुमनाम कमरेड’ माओवादी जनयुद्धका विविच चित्र र चरित्रमा केन्द्रित छ । आफूलाई मन नपरेकाहरू हुन् वा खानपिन नगराउनेहरूलाई कति सजिलै सफाया गरिन्थ्यो भन्ने दर्दनाक चित्र यो कथाले देखाएको छ । ‘मोहम्मदको चकलेट’ युएन मिसनकै बेलाको सुडान केन्द्रित कथा हो । पालनपोषण गर्न सक्नेले चार वटासम्म बिहे गर्न पाउने सामाजिक छुटका कारण पहिलो बिहेमा चकलेट बाँडेको मोहम्मदले श्रीमती गर्भवती भएकै अवस्थामा अर्को बिहे गरेको खुसीयालीमा पुनः चकलेट बाँडेको प्रसङ्गले चिमोट्छ । ‘सलाम गोतामे’ माओवादी युद्धकालमा प्रहरीको अवस्था, हतियारको अभाव, मनोदशा र पारिवारिक बिचल्लीको यथार्थ भुक्तभोगीको अभिव्यक्तिका रूपमा कथाकार श्रेष्ठले वर्णन गरेका छन् । 

यसै गरी शाहीकालमा ‘टिके मेयर’ बनेका मोतीलालले भोगेको राजनीतिक मनोदशा, तत्समयको प्रतिनिधि कथाका रूपमा आएको छ । ‘बोर्डर पार’ वीरगन्ज बोर्डरमा भन्सार छलेर साहुको सामानको पोका पार गराएबापत पाउने ज्यालाबाट परिवारको गुजारा चलाउने वर्गको दुःखद जीवन कथा उतारिएको छ । अर्को कथा ‘कोरोनाको देशबाट’ कोरोना सङ्व्रmमण कालमा अमेरिकी पृष्ठभूमिमा लेखिएको कथा हो ।

‘बेनामे जर्नेल’ का कथावस्तुलाई हेर्दा स्वदेशी जनयुद्ध, विदेशी गृहयुद्ध, तराई–मधेशमा गरिने छोरीप्रतिको व्यवहार, दाइजो प्रथा आक्रन्त विकृत समाज, सीमा अतिक्रमण र सुरक्षा चुनौती, नागरिकताको समस्या, सुरक्षा निकायको मनोबल, सामाजिक जनजीवन, प्रेम–समर्पण, कोराना सङ्व्रmमण, जनजीविकाका सवाललगायतमा केन्द्रित छन् । डा. श्रेष्ठले सङ्ग्रहमा भूमिका लेखाउने मोह नदेखाउनुलाई सराहनीय कार्य मान्नुपर्छ । यद्यपि नाम चलेका सम्पादक राखेर पनि सङ्ग्रहमा भाषिक अशुद्धि यथेष्ट पाइनुले मिठो खानाको गाँसमा ढुङ्गा लागेको जस्तो अनुभव हुन्छ । 

कृति :  बेनामे जर्नेल (कथा सङ्ग्रह) 

कथाकार :  डा. राजुबाबु श्रेष्ठ

प्रकाशक : इन्डिगो इन्क प्रालि., काठमाडौँ

प्रकाशन :  २०७९ साउन

पृष्ठ : १७२

मूल्य :  रु. ३९९ ।–

Author

तुलसीहरि कोइराला