• १९ वैशाख २०८१, बुधबार

मातृभूमिको उपहार (कविता)

blog

अग्लो हिमाल शिखर पहाडी पाखा समथर मधेश हाम्रै हो

विविध भाषा र रहनसहन संस्कृति हाम्रो भएको राम्रै हो ।

बहुल सांस्कृतिक भेषभूषा सजाई अगाली बसेका हामी 

फरक भूगोल भूमिमा रमेर मुलुकको इज्जत राख्न नामी ।


विश्वकै गहिरो खोँच छ यहाँ अरूण उपत्यकाको भित्र

अग्लोमा तिलिचो ताल र होचो भाग केचनाकवल चित्र ।

आठ हजार मिटरभन्दा अग्ला छन चौध हिमाल देशमा 

सय बढी भाषाभाषी जातजाति मौलिक कलाका भेषमा ।


तमोर अरुण सुनकोशी जस्ता जलयात्राका नदी ठुला 

देशको अब्बल पर्यटकीय स्थान गएर रमाइलो गरूँला ।

प्रकृति स्वरूप संरक्षण संरक्षित गरेका निकुञ्जभित्र 

सृष्टि स्वरूप पशुपन्छी जीवन अवलोकनमा मानव मित्र ।


चितवनको राष्ट्रिय निकुञ्ज बर्दिया अनि शुक्लाफाटा

लोप हुन लागेका वन्यजन्तु हेर्दा बुझिन्छन् तिनका पाटा ।

सुदूरपश्चिम खप्तड राष्ट्रिय निकुञ्ज रमणीय बन्यो बास 

आध्यात्मिक र प्रकृतिको रसगान महिमा मिल्ने छ खास ।


पशुपतिनाथ मुक्तिनाथ जनकपुर बुद्ध जन्मभूमिको यात्रा 

नेपाली भूगोल पहाड लेकबेँसी मधेश देखिन्छ धेरै जात्रा ।

हाम्रो आफ्नो मौलिक सभ्यता संस्कार धर्म जोगाउनु पर्छ

नत्र भोली सन्ततिहरूले खोजेमा विदेशीलाई सोध्नु पर्छ । 

चिती स्याउत, लमजुङ