• ३ जेठ २०८१, बिहिबार

दुस्साहस (कविता)

blog

शिखरका कर्कसा अट्टहासहरू 

लमतन्न सडमा ठक्कर खाँदै

प्रतिध्वनित भएका छन् फाँटहरूमा

तरेली बनेका छन् घृणाका विम्बसँगै ।


ढलिमली गरी खाएका साँडेहरू

अभाव र गरिबीका ढिस्काहरूमा

सिङौरी खेल्दै दासताका डल्ला उधिनेर 

अहङ्कारको आकाशमा फुत्त फाल्दै छन् ।


बहिष्कारका बिगुल अन्तध्वनित भएका 

स्वभिमानका क्षितिजहरूमा

अझै पनि ललिपपका बादल मडारिएर

प्रतिगमनका दुस्साहसी छिटाहरू

छिट्याउँदै छन् जनमतका अट्टालिकामा ।


अजङ्गका शैलहरू तेस्र्याएर

परिवर्तनका पाइलाहरूलाई छेक्दै

तानाशाही उन्मादको झुसिलो डकार फाल्दै

चेतनाका अनुहारलाई विद्रुप बनाएर

चुनौतीका नगरा बजाउँदै

अदृश्य परिधानमा सजिएका छन् । 


सिनामङ्गल, काठमाडौँ