काठमाडौँ, साउन १५ गते । नाटक कलाको यस्तो विधा हो, जो यसमा डुब्छ उसले नै नाटकलाई बुझ्छ । बाहिरबाट हेर्दा नाटकको उद्देश्य र महत्व मनोरञ्जन जस्तो मात्र देखिए पनि रङ्गकर्मीहरू यसभित्र जीवन नै लुकेको बताउनुहुन्छ । प्रख्यात बेलायती चलचित्रकर्मी अल्फ्रेड हिच्ककले भन्नुभएको छ, “जीवनबाट नाटक हटाइदिने हो भने त्यो निरस हुन्छ ।”
केही अघिसम्म नेपाली कला क्षेत्रमा अन्य विधाको तुलनामा कमजोर मानिएको रङ्गमञ्च यतिखेर फेरि लोभलाग्दो गरी मौलाएको छ । चलचित्र हलमा टिकट किनेर छिर्ने दर्शक अहिले नाटकघरतिर देखिन थाल्नुभएको छ । काठमाडौँमा मात्र होइन मोफसलमा पनि राम्रा नाटक प्रदर्शन गर्ने होडबाजी चलेको छ । रङ्गमञ्च पूरै व्यावसायिक बनेको छ । झन् नाट्यघरमै नाट्य तालिमका कक्षा सञ्चालन गर्ने चलनले नाटकप्रति तन्नेरीको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ ।
नाटकको माहोल र नाटक रुचाउने दर्शक दिनानुदिन बढ्दै जानु रङ्गकर्म गर्नेका लागि मात्र नभएर नेपाली कला तथा वाङ्मय क्षेत्रका लागि पनि खुसीको कुरा भएको रङ्गकर्मी कमलमणि नेपाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नाट्य क्षेत्र अब धेरै माथि उठिसक्यो । नाटकलाई हामीले कहिल्यै पनि हेला गर्नुहुँदैन र नाटक राम्रो बनाउने हो भने त्यसमा भन्न खोजिएको कुरा प्रस्ट रूपमा खुलाउनु पर्छ जसलाई हेर्ने दर्शकले पनि स्पष्ट बुझून् । पहिलोको तुलनामा अहिले केही मात्रामा भए पनि दर्शक बढेका छन् ।”
रङ्गकर्मी विजय बराल भन्नुहुन्छ, “नाटक एउटा अभिव्यक्तिको माध्यम हो, यसलाई जतिसक्दो मनोरञ्जनात्मक बनाउनु पर्छ । नाटक भनेर खाली आउ, हेर र जाउ मात्र भन्ने होइन, हामीले दर्शकलाई कसरी मनोरञ्जन दिन सकिन्छ भन्ने कुरा पनि सोच्नु पर्छ ।” अहिले ठाउँ ठाउँमा थिएटर हलहरू खुल्नाले पनि रङ्गकर्मीलाई धेरै फाइदा भएको छ । त्यसमाथि नाटकको बजार काठमाडौँमा मात्र सीमित नभएर मोफसलमा पनि यसले राम्रो बजार तताएको छ । अहिले निरन्तर जस्तो नाटक मञ्चन र नाटकबारे बहस हुन थालेको बताउनुहुन्छ पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की । पहिला खुला सडक र साँघुरा गल्लीमा मञ्चन हुने नाटक अब सुविधासम्पन्न मञ्चहरूमा देखाउनु नै हाम्रो ठुलो उपलब्धि हो, कार्कीले भन्नुभयो ।
चलचित्र हलहरूमा दर्शक सुस्ताउँदै गर्दा थिएटरमा भने दर्शक आकर्षित भइरहेका छन् । अहिले प्रायः थिएटरमा दर्शक भरिभराउ नै देखिन्छन् । मनोरञ्जनका लागि नाटक हेर्ने र त्यसलाई बुझ्ने कल्चर देशभरि नै बढेको छ ।
मण्डला थिएटरको ११ औँ ब्याचकी विद्यार्थी स्नेहा जोशी सानैबाट नै आफूलाई नाटकमा रुचि भएकाले यसमा लागेको बताउनुहुन्छ । नाटक ‘कोराघाट’ मा अभिनय गर्नुभएकी उहाँले नाटकले समाजसामु आफूलाई चिनाउन ठुलो काम गर्ने बताउनुभयो । नाटक भनेको जे देखिन्छ त्यसलाई अनुभव गर्ने हो । मानौँ हामी सडकमा हिँडिरहेका छौँ र हामीले अनौठो कुरा देख्यौँ भने हामी त्यसलाई नाटकमा अनुभव गर्न सक्छौँ । यही नै हो नाटक ।
पछिल्ला केही वर्षमा नेपालमा गुरुकुल, मण्डला थिएटर, शिल्पी, थिएटर, अजेश थिएटर, कौशी थिएटर, पोखराको पोखरा थिएटर, झापाको कदम थिएटरले सक्रिय रूपमा नाटक मञ्चन गरिरहेका छन् । यी नाटकघरबाट स्थापित भएका कलाकार र नाटक प्रदर्शनकै लागि कलाकारलाई विदेशबाट पनि निम्ता आउन थालेको छ । अन्तर्राष्ट्रिय स्तरका नाटक मेला, विदेशी तथा स्वदेशी निकायले स्थापना गर्ने चेतनामूलक कार्यक्रमका लागि कलाकार र नाट्य समूहलाई आकर्षक सेवासुविधाका अवसर दिने क्रिम पनि उत्तिकै बढेको छ ।