• २१ चैत २०८२, शनिबार

कबड्डी लिगसँग नेपहपको श्रीपेचको सहकार्य

blog

एनकेएलमा सहकार्यका लागि सम्झौता पत्र आदान प्रदान गरिँदै ।

काठमाडौँ, चैत २१ गते । नेपाल कबड्डी लिग (एनकेएल) को रोमान्चक प्रतिस्पर्धामा र्‍यापरहरूको सिर्जना पनि देख्न र सुन्न पाइने भएको छ । एनकेएलको ‘रियालिटी शो पार्टनर’ को रुपमा नेपहपको श्रीपेच जोडिएपछि यस्तो माहोल सृजना हुने भएको हो । 

जेन्जी पुस्तामा निक्कै लोकप्रिय रियालिटी शो नेपहपको श्रीपेचसँग एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले काठमाडौँमा साझेदारी गर्ने घोषणा गरेको हो ।

कार्यक्रममा एस्ट्रोनिक्सका सीईओ विकास अग्रवाल र नेपहपको श्रीपेचका संस्थापक सुदीप पोखरेलले साझेदारी पत्रमा हस्ताक्षर गर्नुभयो । एनकेएल सिजन–२ र नेपलहपको श्रीपेच सिजन–३ को लागि सहकार्यको सम्झौता भएको हो ।

सीईओ अग्रवालले भन्नुभयो, “एनकेएल र नेपहपको सहकार्यले नेपालमा एउटा नयाँ युगको सुरुआत गर्दै स्पोट्र्स र इन्टरटेन्मेन्टलाई हेर्ने तरिका नै परिवर्तन गर्दैछ । हामी एउटा मुभमेन्ट निर्माण गरिरहेका छौं । जहाँ कबड्डीको शक्ति र हिपहपको आवाज मिलेर नयाँ कथा लेख्नेछ । अब कबड्डी केवल खेल होइन, यो युवाको आवाज हो, संस्कृतिको ऊर्जा हो र यो देशको नयाँ पहिचान बन्नेछ ।”

नेपहपका संस्थापक पोखरेलले भन्नुभयो, “रियालिटी शो र स्पोर्ट्स लिगबिच पहिलो पटक सहकार्यको सम्झौता भएको छ । हामी धेरै खुशी छौं कि हाम्रा र्‍यापरहरूले एनकेएलमा एस्पोजर पाउने भएको छ भने एउटा उदाउँदो खेलको रुपमा अगाडि बढेको कबड्डीसँगै हिपहप म्युजिकको सहयात्राको थालनी भएको छ ।”

एनकेएल सिजन–२ आगामी जेठ २२ गतेदेखि दशरथ रङ्गशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा सुरु हुँदैछ । जसमा ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सम्झौता अनुसार नेपहपको श्रीपेचका र्‍यापरले प्रतिस्पर्धाको आधारमा एनकेएलका ६ टिमका लागि फरक एन्थम सिर्जना गर्नेछन् ।