लीलाराज खड्का
बिर्तामोड, चैत्र २१ गते । झापाको चन्द्रगढीमा नेपालमै सर्वाधिक पुरस्कार राशीको महिला फुटबल प्रतियोगिता चन्द्रगढी महिला गोल्डकपक हुने भएको छ ।
यसअघि समेत झापाको दुधे रङ्गशालामा यसप्रकारको प्रतियोगिता भएको थियो । यस पटक २०८३ साल बैशाख ५ गतेदेखि १४ गतेसम्म भद्रपुरको मेची रंगशालामा महिला गोल्डकप हुन लागेको शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।
आयोजक चन्द्रगढी युवा क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको छ । विजेताले महिला फुटबलको इतिहासमै सर्वाधिक ११ लाख रुपियाँ पुरस्कार रकम पाउने क्लबका अध्यक्ष रोहित सुब्बाले बताउनुभयो ।
प्रतियोगितामा उपविजेताले नगद पाँच लाख रुपियाँ पाउने छ । प्रतियोगिताको मुख्य प्रायोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको जानकारी गराइएको छ । त्यस्तै, उपविजेताको पुरस्कार रकम सजिलो नेटले उपलब्ध गराउने जनाइएको छ ।
प्रतियोगिताका प्लेयर अफ द म्याचले नगद ११ हजार रुपियाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपियाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा आयोजकको तर्फबाट एक टिम रहने छ । त्यस्तै, नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी एफसी, नेपाल एपिएफ एफसी र नेपाल पुलिस क्लब तथा चर्च ब्वाइज युनाइटेड, संकटा फुटबल क्लबका महिला टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यगैगरी भारतको रानी लक्ष्मीबाई स्पोट्र्स एकेडेमी, भुटानको थिम्पु सिटी एफसी तथा बाँकी दुई टिम एसियन मुलुकका क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सुब्बाले जानकारी दिनुभयो । प्रतियोगिताका लागि मेची रंगशालाको निर्माण र स्तरोन्नितको काम थालिएको छ ।