गोकर्ण पौडेल
तुलसीपुर, साउन १४ गते । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले ग्वार खोलामा जलाशय निर्माण प्रदेशकै प्राथमिकतामा राखिएको बताउनुभएको छ । बिजौरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री मास्कीले दाङ जिल्लाका क्षेत्रलाई बाह्रै महिना सिँचाई सुविधा पुर्याउने उद्देश्यले तुलसीपुर १९ ढोडेनी क्षेत्रमा वृहत् जलाशय निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
उहाँले वृहत् जलाशय निर्माणका विस्तृत विवरण प्रतिवेदन(डिपिआर)का लागि आर्थिक वर्ष २०८०/८१ को बजेटमा एक करोड बजेट विनियोजन गरिएको बताउनुभयो । मन्त्री मास्कीले जलाशय निर्माणसँगै यस क्षेत्रमा दीर्घकालीनरुपमा सिँचाई, खानेपानी समस्या समाधान हुने बताउनुभयो ।
ग्वार खोला जलाशय निर्माणका लागि दाङ वृहत् सिँचाई आयोजनाले गरेको सम्भाव्यता अध्ययन अनुसार दश हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने र जलाशय निर्माणका लागि दश अर्बको बजेट आवश्यकता पर्ने उल्लेख गरिएको छ । मन्त्री मास्कीले ऐतिहासिक बिजौरी बजारको विकास र प्रवर्धनका लागि ऐतिहासिक राजदरबार क्षेत्र छिल्लीकोटको विकासका लागि समेत प्रदेश सरकारले पर्यटकीय, धार्मिकस्थलका रूपमा विकास गर्न थालेको बताउनुभयो ।
उहाँले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ सङ्ग्राममा रहेको ब्यारेकमा जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्तिहरूका लागि स्याहार केन्द्र स्थापना गर्नको काम अघि बढाइएको बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का वडाध्यक्ष प्रेमनाथ योगीले छिल्लीकोट पर्यटन मार्ग र बिजौरी हुँदै रोल्पा र सल्यान जोड्ने ग्वार खोलाको सडक निर्माणमा प्राथमिकता दिएर बजेटको व्यवस्थापन गर्नका लागि मन्त्री मास्की समक्ष माग गर्नुभएको हो ।