काठमाडौँ, पुस ११ गते । सभ्यता, विकास, धार्मिक एवं सांस्कृतिक पक्षसँग अन्योन्याश्रित सम्बन्ध रहेको बागमती नदीका किनारको सौन्दर्यीकरणमार्फत आकर्षक र हराभरा बनाइएको छ । समुदायसँग सहकार्य गरेर बागमती किनारका खाली जमिन सदुपयोग गरेर उपयोगमा ल्याउँदा काठमाडौँ र ललितपुरका कैयौँ नागरिक लाभान्वित भएका छन् ।
बागमती नदी किनारसँगै जोडिएका सार्वजनिक जग्गामा बगैँचा, व्यायामशाला, योग तथा ध्यान केन्द्र, आराम स्थल निर्माण गरिएपछि बिहानदेखि साँझसम्मै स्थानीयको आवतजावत बढेको पाइन्छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले समुदायसँग सहकार्य गरेर बहुउपयोगी प्रयोजनका लागि ती स्थानलाई प्रयोगमा ल्याएको हो ।

समितिका सूचना अधिकारी उद्धव नेपालले नदी किनार सौन्दर्यीकरणसँगै सार्वजनिक स्थलमा मानव क्रियाकलाप सहज होस् भन्ने अभिप्रायले बगैँचा तथा अन्य संरचना निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नदी सफा बनाउने प्रयास जारी छ । साथै किनारमा आमनागरिकलाई दैनिक शारीरिक अभ्यास, मर्निङ वाक, योग, साधना र अन्य खेलकुद गतिविधि गर्नका लागि पार्क निर्माण गरिएको हो । समितिले निर्माण गरेका पार्क पनि समुदायबाट सञ्चालनमा ल्याइएको छ ।”
खुला आकाशमुनि नियमित अभ्यास
अव्यवस्थित सहरीकरणले खुम्चिँदै गएको काठमाडौँमा खुला आकाशमुनि नियमित अभ्यास, खेलकुद गतिविधि गर्ने ठाउँको अभाव छ । काठमाडौँ महानगरपालिका–३२, सुविधानगर तीनकुनेस्थित बागमती पुलबाट दक्षिणतर्फ बागमती नदीको बायाँ पूर्वी किनारामा हरियाली प्रवर्धन गरी, मदन भण्डारी स्मृति वाटिका निर्माण गरिएको छ । २०७५ देखि सञ्चालन रहेको वाटिका विस्तार गरिएको तीन खण्डमध्ये पहिलो खण्ड काठमाडौँ उपत्यका विकास प्राधिकरणले निर्माण गरेको हो ।

वाटिका सञ्चालक समितिका पूर्वअध्यक्ष एवं सल्लाहकार अनुपकुमार श्रेष्ठका अनुसार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी किनारतर्फ बगैँचा विस्तार गरेपछि वाटिका फराकिलो भएको छ । उहाँले भन्नुभयो, “मदन भण्डारी स्मृति वाटिका चार रोपनी क्षेत्रफलमा फैलिएको छ । विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । यसरी बगैँचा विस्तार गर्दा सार्वजनिक संरक्षण भयो । साथै नागरिकलाई खुला आकाशमुनि नियमित अभ्यास गर्न सहज पनि भयो ।”

बगैँचाले बढाएको सौन्दर्य
बागमती नदी किनारलाई सौन्दर्यीकरण गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ । खाली र सार्वजनिक जग्गालाई मानव उपयोगमा ल्याउनका लागि समितिले पार्क निर्माण गरिरहेको छ । समितिका सूचना अधिकारी नेपालले काठमाडौँ महानगर–१०, बुद्धनगरपुलदेखि रुद्रमती दोभान पूर्ववृद्धनगर पुल पश्चिम रुद्रमती, उत्तर बागमती नदी तथा दक्षिण कोरिडोरको बाटो हरियाली प्रवर्धन र उद्यान निर्माण गरी सञ्चालन आरम्भ गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त स्थान जीवन विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको छ ।
बागमती नदी दाहिने किनारा टेकु पचलीदेखि विष्णुमती दोभानसम्म उद्यानलाई चिन्तामणि घाट सुधार समिति, हनुमान मार्ग टोल विकास समितिले शङ्खमूलस्थित शङ्खमुल आर्ट अफ लिभिङ योग हलदेखि पश्चिममा रहेको क्षेत्रमा हरियाली बनाउने तथा उद्यान निर्माण तथा सञ्चालन गरिरहेको छ ।

त्यसै गरी सत्य साई केन्द्रीय परिषद्ले शङ्खमूल पुलदेखि पश्चिमतर्फ बुद्धनगर पुलसम्म निर्माण गरिएका उद्यान सञ्चालन गरिरहेको छ । काठमाडौँ महानगर–३१ स्थित आलोकनगरमा रहेको बागमती नदीको दायाँ किनारातर्फ श्री सिद्धिविनायक र शोभा भगवती मन्दिरसम्मको उद्यान श्रीविनायक सुधार समितिले सञ्चालन गरिरहेको छ ।
गैरआवासीय नेपाली सङ्घको सहयोगमा निर्मित बागमती नदीको बगलामुखी जाने पुलको बायाँ एन्फा फुटबल मैदानदेखि काठेपुलसम्म हरियाली प्रवर्धन तथा उद्यान निर्माण गरी ललितपुर महानगरपालिका–९ लाई सञ्चालन गर्न दिइएको छ । त्यसै गरी ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले काठमाडौँ महानगरपालिका–११, थापाथलीमा बागमती नदीको दायाँ किनारास्थित सुकुमवासी वस्तीदेखि पूर्व बागमती नदीदेखि उत्तर रुद्रेश्वर मन्दिरदेखि पश्चिम तथा पिच सडक हुँदै दक्षिणसम्म उद्यान निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।

विष्णुमती नदी किनारमा पनि बगैँचा निर्माण गरिएको छ । काठमाडौँ महानगरपालिका–१६, कल्याणपुर बालाजु पुलदेखि विष्णुमती नदीको बायाँ किनारा पूर्व विष्णुमती नदी, पश्चिम पिच सडक, उत्तर बालाजु पसल र दक्षिणमा कल्याणनगर मन्दिरभित्र उद्यान निर्माण गरी समाज कल्याण विकास केन्द्रलाई सञ्चालनको जिम्मा दिइएको छ ।
