• ११ पुस २०८२, शुक्रबार

गोरखापत्र समाचार प्रभाव

जेनजी घाइते तीन जनाको डा. रुइतसँग उपचार

blog

काठमाडौँ, पुस ११ गते । जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेतले डा. सन्दुक रुइतसँग आँखाको उपचार गराउनुभएको छ । ‘‘डा. रुइतलाई आँखा देखाउन पाए तेरो आँखाको दृष्टि (भिजन) बचाउन सकिन्छ भन्ने सबैको सल्लाह थियो,” दीपेन्द्रले भन्नुभयो, गोरखापत्रमा समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयबाट र तिलगङ्गा आँखा अस्पतालबाट फोन आयो ।” घाइते बस्नेतको समाचार पुस ३ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो ।

‘‘बायाँ आँखाको भिजन जोगाउन सकिन्छ भन्ने ठुलो आशा जागेको छ,” बस्नेतले भन्नुभयो, “भएको आँखा केही नभइदिए हुन्थ्यो ।” डा. रुइतसँग भेट गरेपछि तत्काल शल्यक्रिया सम्भव नभए पनि औषधीले आँखाको भिजन जोगाउन सकिने ठुलो आश्वासन पाएको बताउँदै बस्नेतले भन्नुभयो, “आँखाले देख्न मात्र सके पनि जिन्दगीमा ठुलो युद्ध जिते जस्तो हुने थियो ।” उहाँ अहिले पनि श्रीमतीको सहारामा हिँडडुल गर्नु परेको छ । 

बस्नेतकी श्रीमती सङ्गीता खड्काले गोरखापत्रमा समाचार प्रकाशित भएपछि आफूलाई स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी र तिलगङ्गा अस्पतालबाट फोन आएको सुनाउनुभयो । उहाँले खुसी व्यक्त गर्दै डा. सन्दुकलाई आँखा देखाएपछि श्रीमान्ले आँखा देख्नेमा आफू ढुक्क भएको भन्दै गोरखापत्रलाई धन्यवाद दिनुभयो । पाँच पटकसम्म तिलगङ्गामा उपचारको लागि जाँदा डा. सन्दुकसँग भेट पनि नभएको र औषधीको समेत शुल्क तिर्नु परेको गुनासो गर्नुभएकी खड्काले यो पटक भने ओपिडी टिकटदेखि औषधी तथा चस्मासमेत निःशुल्क प्राप्त गरेको सुनाउनुभयो । 

डा. रुइतले घाइते दीपेन्द्रलाई प्रत्येक तीन तीन महिनामा फलोअपका  लागि बोलाउनुभएको छ । “मेरो लागि ठुलो सफलता भयो, पाँच पटकसम्म अस्पताल जाँदा डा. सन्दुकलाई देखाउन पाएको थिइनँ, खड्काले थप्नुभयो, “सबैले डा. सन्दुकलाई आँखा देखाउँदा आँखा देख्न सकिन्छ भनेका थिए । गोरखापत्रमा समाचार प्रकाशित भएकै दिन फोन गरेर समय दिनुभयो ।” घाइते दीपेन्द्रको शरीर प्यारालाइसिस भएकोले हाल वसुन्धारामा रहेको फिजियोथेरापी सेन्टरबाट निरन्तर फिजियोथेरापी गराउँदै आउनुभएको छ । 

घाइते दिपेन्द्र मात्र होइन, जेनजी आन्दोलनमा दुवै आँखा गुमाउनुभएका सन्तोष बोहराले पनि डा. रुइतसँग आँखा देखाउन खोज्नुभएकाले उहाँलाई पनि त्यही मेसोमा आँखाको उपचार गराइएको छ । जेनजी आन्दोलनका घाइते रामबहादुर चक्रवारले पनि डा. सन्दुक रुइतसँग आँखा परीक्षण गराउनुभएको छ ।

तिलगङ्गा आँखा अस्पतालकी सञ्चार अधिकृत सुनिता केसी सोनुले तिनै जनाको खाँखाको उपचार डा. रुइतबाट भएको जानकारी दिँदै औषधी उपचार तथा चस्मासमेत निःशुल्क उपलब्ध गराइएको जानकारी दिनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गोरखापत्रमा समाचार प्रकाशित भएपछि मन्त्रालयले चासो व्यक्त गर्दै बिरामी र अस्पताललाई समन्वय गरी डा. रुइतसँग उपचारका लागि व्यवस्था गरिएको जानकारी दिनुभयो । घाइते सन्तोष बोहोराले भने दुवै आँखा देख्न सक्नुहुन्न । चार/पाँच वर्षमा आँखाको पर्दा आविष्कार हुने क्रममा रहेकाले बोहोराको उपचार चार÷पाँच वर्षपछि हुन सक्ने आश्वासन डा. रुइतले दिनुभएको थियो । उहाँलाई एक/एक वर्षमा फलोअपमा बोलाउनुभएको छ ।

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।