गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहलगायत पार्टी र व्यक्ति चुनावी सहकार्य गर्न सघन संवादमा जुट्नुभएको छ । शाहका सहयोगी कुमार बेनको घर ललितपुरमा बिहीबार एकपक्षीय र बहुपक्षीय छलफल भएका हुन् । रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगरप्रमुख शाहबिच सोमबार (पुस ७ गते) राति एकल संवाद भएपछि बिहीबार नयाँ पार्टी र व्यक्तिसँग छलफल भएको नेताले बताएका छन् ।
रास्वपा उपभापति डिपी अर्यालले पार्टी सभापति लामिछाने र काठमाडौँ महानगर मेयर शाहबिच बिहीबार छलफल भएपछि अन्य पार्टीका नेतासँग संवाद भएको जानकारी दिनुभयो । “हाम्रो चरणबद्ध छलफल भइरहेका छन् । चुनावी सहकार्य वा एकताका विषयमा छलफल जारी छन् । जनतामा सबै नयाँ शक्ति मिलेर गए हुन्थ्यो भन्ने अपेक्षा छ,” उहाँले भन्नुभयो, “जनताको अपेक्षा कसरी पूरा गर्न सकिन्छ भन्नेमै छलफल केन्द्रित छन् । कुन कुन नयाँ शक्तिसँग सहकार्य वा एकता गर्ने भन्ने सवालमा टुङ्गो लागेको छैन ।” उपभापति अर्यालले आगामी चुनावमा सकेसम्म नयाँ र वैकिल्पक शक्ति एक ठाउँमा ल्याउन प्रयत्न जारी राखिने दाबी गर्नुभयो ।
यस्तै महानगर प्रमुख शाहले सल्लाह सुझावका लागि भन्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समेत छलफलका लागि बोलाएको प्रलोपाकी नेता मानुषी यमी भट्टराईले जानकारी दिनुभयो । “नयाँ र वैकल्पिक शक्ति मिलेर जानुस् । मैले पहिलेदेखि नै तपाईंहरू लोकतान्त्रिक तरिकाले मिलेर एउटा शक्ति निर्माण गरेर जानुस् भनेर भन्दै आएको छु । त्यसपछि देशको आर्थिक रूपान्तरण गर्न लाग्नुस्” बाबुरामको भनाइ उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसमा आफ्नो साथ सहयोग र समर्थन अभिभावकका रूपमा रहने डा. भट्टराईले बताउनुभएको छ ।” महानगर प्रमुख शाहले बाबुरामलाई समेत एउटै पार्टीमा जोडिएर आउन आग्रह गरेको उहाँले बताउनुभयो ।
लामिछाने र शाह संवाद भएपछि रास्वपाका नेता शिशिर खनाल, नेपाली कांग्रेस छोड्नुभएका पूर्वसांसद अमरेशकुमार सिंहसमेत उक्त संवादमा पुग्नुभएको थियो । यस्तै नेपाली कांग्रेसकै पूर्वसांसद सुनिल शर्मा उक्त संवादमा जोडिनुभएको थियो ।