काठमाडौँ, पुस ११ गते । सर्वोच्च शिखर सगरमाथाको देश नेपाल तर सरकारसँग यसको दीर्घकालीन संरक्षण गर्न सघाउने कुनै छुट्टै नीतिगत व्यवस्था हालसम्म छैन । पछिल्लो समय हिमाल र पर्वतको संरक्षण अवधारणामा नेपालले नेतृत्व गर्दै गर्दा त्यसलाई अघि बढाउने हिमालसम्बन्धी नीतिगत दस्ताबेज आफैँसँग नहुँदा अप्ठ्यारो भोग्नु परेको अनुभव सरकारसँग छ । त्यही अभाव पूर्ति गर्न वन तथा वातावरण मन्त्रालयले विभिन्न मन्त्रालयसँगको सहकार्यमा नेपालको हिमाल रणनीति बनाउन लागेको छ ।
सर्वोच्च शिखर सगरमाथासहित विश्वका उच्च १४ वटा हिमालमध्ये आठ वटा नेपालमा छन् । विश्व पर्वतारोहण सङ्घले अनुमोदन गर्ने चरणमा रहेको पछि थप भएका अन्य छ वटा हिमालसमेत जोड्ने हो भने विश्वका अग्ला हिमालमध्ये १४ वटा नेपालसँग र बाँकी छ वटा मात्र विदेशी भूमिमा हुने छन् । हिमाल संरक्षणसँगै नेपालको आर्थिक तथा भौतिक विकाससँग हिमाललाई प्रत्यक्ष जोड्ने सरकारको पहलसहित रणनीतिको मसौदा गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । उक्त हिमाल रणनीतिको नाम ‘जीवन्त सगरमाथा’ राखिएको जानकारी मसौदाकार डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
अङ्ग्रेजीमा ‘नेपाल्स माउन्टेन रेजिलियन्ट स्ट्राटेजी’ भनेर प्रस्ताव गरिएको छ । ढुङ्गानाका अनुसार नेपाली नाम सगरमाथाबाट अरू हिमालको पनि सम्बोधन हुनुका साथै सांस्कृतिक विविधताले अत्यन्तै धनी मानिएको हिमाली क्षेत्रको संरक्षण नै नेपालको भविष्यको संरक्षण हो भन्ने बुझाउन खोजिएको छ । नेपालको आर्थिक तथा सामाजिक समृद्धिसँगै हिमालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र त्यसको नेपालले नेतृत्व लिने गरी थप दुई वटा राजनीतिक उद्देश्य रणनीतिले बोकेको छ । अर्कोतर्फ विश्वव्यापी र क्षेत्रीय मञ्चहरूमा नेपालले सगरमाथा र यहाँका उच्च हिमालका बारेमा बोल्दा नीतिगत स्पष्टतासहित यस रणनीतिलाई अगाडि लैजाने राजनीतिक उद्देश्य रणनीतिले लिएको छ । हिमाल हुनु नेपालका लागि वरदान हो । यसको संरक्षण गर्न कस्ता चुनौती छन् भन्ने सवालमा राणनीतिले स्पष्ट बोल्ने छ । उहाँले भन्नुभयो, “समग्र नेपाल पर्वतीय मुलुक हो किनभने २५५ लाख वर्ष पहिले समुद्रबाट माथि उठ्दै गर्दा सबैभन्दा पहिले अग्लो हिमालसँगै, महाभारत पर्वत, चुरे पर्वत हुँदै तराईको भूभाग बनेको थियो ।”
१२ हजार वर्ष पहिलेदेखि पर्वतीय क्षेत्रमा मानिसको बसोबास रहँदै आएको पाइन्छ । हिमालदेखि तराईसम्मको जैविक विविधतायुक्त मानवीय, सामाजिक, आर्थिक तथा भौगोलिक सम्पदाको संरक्षण गर्ने नीतिगत दस्ताबेजका रूपमा रणनीति ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनको असरले सर्वोच्च शिखर सगरमाथादेखि हिन्दुकुश हिमालय अन्तर्गत पर्ने नेपालका हिमालको हिउँ पग्लने क्रम बढेको छ ।
विश्वमा नेपालले हिमाल संरक्षणको मुद्दालाई स्थापित गर्ने चरणमा पुग्दा नेपालसँग आफ्नै रणनीति हुनु अत्यावश्यक भएको महसुस भएकाले पनि रणनीति बनाउँदै गरिएको हो । उहाँले थप्नुभयो, “नेपालको हिमाल मात्र हिमाल होइन, विश्व मानव सभ्यताकै उच्च प्रतीक हो, यसको संरक्षणलाई कानुनी रूपमै व्यवस्थित गर्नु पनि रणनीतिको उद्देश्य हो ।”
वन तथा वातावरण मन्त्रालयस्थित जलवायु परिवर्तन महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार हिमालको सन्दर्भमा हिमालको पुनरुत्थानसँगै यहाँका मानिसको विकास र समृद्धिको द्योतकका रूपमा रणनीति आउन लागेको हो । विश्वव्यापी विकाससँगै बढ्दो तापक्रमले हिमालको हिउँ अधिक पग्लन थालेको छ । त्यति मात्र होइन, हिउँ पग्लेर हिमालका काखमा सानाठुला अनगिन्ती हिमताल बनिरहेका छन् । तीमध्ये केही ताल विस्फोट भएर विगत तीन वर्षयता मात्र सोलुखुम्बु, हुम्ला, मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक लगायतका हिमाली भेगका मानवीय बस्तीसँगै ठुलो जनधनको क्षति भइरहेको छ । त्यसैलाई हेर्ने हो भने पनि सरकारले त्यस्ता क्षति रोक्न हिमाली भेगको संरक्षण र विपत् व्यवस्थापन तत्काल गर्नुपर्ने टड्कारो आवश्यकता आइपरेको छ तर कुन आधारमा गर्ने भन्ने विषयमा छरिएर रहेका थुप्रै नीतिलाई हेर्नुभन्दा हिमालको आफ्नै रणनीति भएमा सरकारलाई पनि सहज हुने उहाँको भनाइ छ ।
हिमाली सभ्यतासँगै यहाँको आर्थिक तथा सामाजिक विकासमा हिमालको अजस्र जलस्रोतको उपयोग र उपभोगलाई समेत रणनीतिले ध्यान दिएको छ । यहाँ हुने वैश्विक पर्यटन, कृषि तथा जडीबुटीजन्य व्यापारसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा हिमालको महत्वलाई बुझाउने पहल रणनीतिले गर्ने विश्वास लिइएको मन्त्रालयले जनाएको छ ।