• ८ जेठ २०८१, मङ्गलबार

मन्दिर परिसर (कविता)

blog

मन्दिर परिसर भरिभराउ छ

भक्तहरूको भीड लाइनमा देखिन्छ 

विभिन्न ढोकाबाट पसेका भक्तजनहरू

एकै ठाउँ आइपुगेका छन् 

सबैलाई हतारो छ– कसले पहिला आफ्नो मागपत्र

देउतासामु विनम्रतापूर्वक प्रस्तुत गर्ने भन्ने ।

मन्दिर परिसर वास्तवमै सानो तर प्रतिनीधिमूलक मञ्च जस्तो छ

सबै वर्ग

सबै लिङ्ग

सबै जातजाति

आआफ्नो सपनाको गोप्य सूत्र कण्ठ थोरै समयमा

देउतालाई सुनाउन आतुर भक्तजनको रोमाञ्चक भीड ।

गरिब– भक्त दैनिक खप्नुपरेको सास्तीबाट मुक्त हुन

निराहार फूलपत्र बोकेर उभ्भिएको छ,

मानौँ– यो दर्शनपछि उमुक्त हुने छ त्राण र यन्त्रणाबाट

धनी भक्त– उसको सम्पत्तिको बढोत्तरी र सुरक्षाका खातिर

बेलाबेलामा जय भन्दै पालो पर्खिरहेछ, 

रोगीहरू रोगमुक्त हुन

कर्मचारीहरू बढुवा हुन र आफूले चाहेको ठाउँमा पदस्थापन हुन

राजनीतकर्मीहरू पद हत्याउन

युवायुवतीहरू सपनाको देश पुग्न अनि भिसा लाग्ने चाहनामा

घन्टौँदेखि कुरिरहेका छन्– मानौँ, भगवान् यी सबैको माग पूरा गर्न

डायरी र कलम लिएर बसेका छन् ।


सर्वज्ञ– सर्वव्यापी प्रभुलाई किन चाहिन्थ्यो

गायरी र कलम तिनका फिरादपत्र सुन्न ?

थुप्रै गिगाबाइटहरूको क्षमता छ प्रभुमा

यस्तैमा मेरी पत्नी सम्झाउँछिन् मलाई

“न विर्सनु नि”– सङ्कल्प गर्न ।

मन्दिर पुगेपछि सबथोक पाइन्छ भन्ठानेर 

नपाउँदा भाग्यले ठग्यो भन्दै केही समय नास्तिक हुन्छौँ,

बिर्सेर त्यो घटना फेरि नयाँ मागसहित 

मन्दिर पुग्छौँ

बिलौना गर्छौ,: असम्भव आशा गर्छौं

मन्दिर पुगेपछि सबथोक पाइन्छ भन्ठानेर

नपाउँदा भाग्यले ठग्यो भन्दै

केही समय नास्तिक हुन्छौँ

बिर्सेर त्यो घटना फेरि नयाँ मागसहित

मन्दिर पुग्छौँ

बिलौना गर्छौं, असम्भव आशा गर्छौं

मन्दिरकै छेउमा लेखिएको वाक्य पढ्दैनौँ

“तिमी सुरु गर, निरन्तर अभ्यास गर

हरेश नखाऊ, प्रयत्न जारी गर

परिणाम निम्रै पक्षमा हुनेछ”


हामी सुरु पनि नगर्ने, अभ्यास त झनै नगर्ने

परिणाम भने सुखद् भन्ने चाहना राख्ने

भीड जस्तो भएका छौँ

यस्तो सोच्छौँ– 

मन्दिर परिसरमा जम्मिनु हाम्रो विजय हो । 

विशालनगर, काठमाडौँ