रामेछाप समाचारदाता
रामेछाप, साउन २ गते । रामेछापको सदरमुकाम मन्थली बजारको मूल सडकमा अब सवारी पार्किङ गर्न नपाइने भएको छ। यसअघि दुई नगरपालिका र छ वटा गाउँपालिकाको केन्द्र मन्थली बजारको मुख्य सडकमै मोटरसाइकल तथा साना चारपाङ्ग्र्रे सवारीसाधन पार्किङ हुँदै आएका थिए।
आइतबार रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले मन्थली बजार क्षेत्रको मूल सडकमा गरिँदै आएको पार्किङ हटाउने निर्णय गरेको हो।
बैठकले हाललाई मोटरसाइकल पार्किङ गर्न मन्थलीमा रहेका विभिन्न शाखा सडक तोकिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो। “तत्कालका लागि जिल्ला समन्वय समितिको चौर, कृषि विकास बैङ्कबाट कृषि ज्ञान केन्द्र जाने सडक र चिरञ्जीवी डेरीभन्दामाथिको सडकमा एकतर्फी पार्किङको व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो।
व्यस्त मन्थली बजारको सानो सडक, त्यसमा पनि आधा सडक नै ढाक्ने गरी मोटरसाइकललगायत साना गाडी पार्किङ गरेर राख्दा दिउँसो समस्या हुने गरेको थियो। पार्किङका कारण बजार क्षेत्रका सडकमा दोहोरो यातायात सञ्चालनमा समस्या हुँदा बजार नै अस्तव्यस्त हुने गरेको थियो।
यसै गरी बैठकले काठमाडौँ–मन्थली चल्ने यात्रुवाहक सवारीसाधनको भाडा दर प्रदेश सरकारले तोकेबमोजिम मात्र लिन यातायात व्यवसायीलाई निर्देशन दिने निर्णय पनि गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो। उहाँका अनुसार डिलक्सका लागि थप २० प्रतिशत भाडा लिन पाउने व्यवस्था कार्यान्वयन गर्दा डिलक्सका लागि तोकिएको मापदण्ड अनिवार्य रूपमा पालना भएको हुनुपर्ने निर्णय पनि भएको छ।
मन्थलीबाट काठमाडौँ चल्ने सवारीसाधनलाई प्रदेश सरकारले ५७९ रुपियाँ भाडा दर तोकेको छ। डिलक्स सुविधा भएका गाडीले थप २० प्रतिशत शुल्क लिन पाउँदा बढीमा ७१५ रुपियाँसम्म भाडा लिन पाउँछन् तर रामेछापबाट काठमाडौँ चल्ने सुमो, सामान्य सिट भएका माइक्रो बस तथा बसहरूले समेत सात सय रुपियाँ भाडा लिँदै आएको यात्रुको गुनासो छ।
सरोकारवाला सबैलाई राखेर गरिएको बैठकको निर्णय साउन १ गते सोमबारदेखि कार्यान्वयनमा आएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो।
बैठकले रामेछाप जिल्लाभित्र चल्ने सवारीसाधनको पनि भाडा निर्धारण गरेको छ। जिल्लामा चल्ने सवारीसाधनलाई हाल प्रदेश सरकारले तोकेको भाडा दरबाहेकका पक्की सडकमा प्रतिकिलोमिटर आठ रुपियाँ र कच्चीमा ११.५ रुपियाँ भाडा दर तोकिएको छ।
जिल्लाभित्र चल्ने तीनपाङ्ग्रे यात्रुवाहक सवारीसाधन अटोको हकमा जिल्ला सदरमुकामभित्रका विभिन्न चोकमा भाडा दर कायम गरिएको छ। भाडा दर कायम भएका स्थानभन्दा बाहेकका स्थानमा पक्की सडकमा मात्र जान पाउने र प्रतिकिलोमिटर १७ रुपियाँ भाडा दर तोकिएको छ।
सवारीसाधनमा ज्येष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएका व्यक्तिले नियमानुसार पाउने भाडा छुटको व्यवस्थालाई अनिवार्य रूपमा पालना गर्न सम्बन्धित सबैलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।