मकवानपुर समाचारदाता
हेटौँडा, साउन २ गते । उच्च अदालत पाटन, हेटौँडा इजलासमा दुई वर्ष नाघेका मुद्दा शून्य रहेको छ । आव २०७९/८० बाट चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका मुद्दामध्ये १८ महिना कटेको मुद्दा एउटा मात्र रहेको हेटौँडा इजलासले जनाएको छ ।
हेटौँडा इजलासका अनुसार आव २०७८/७९ बाट आव २०७९/८० मा सरेर आएका ५४५ र आव २०७९/८० मा दर्ता भएका एक हजार १९६ सहित एक हजार ७४१ मुद्दा रहेकामा ७५.३६ प्रतिशत अर्थात् एक हजार ३१२ वटा मुद्दा फस्र्योट भएका छन् ।
अदालतका सूचना अधिकारी केशव ढुङ्गानाले उच्च अदालत पाटन, हेटौँडा इजलासको गत आर्थिक वर्षको लक्ष्यको आधारमा १११.७५ प्रतिशत मुद्दा फस्र्योट भएको जानकारी दिनुभयो ।
उहाँले आव २०७८/७९ बाट जिम्मेवारी सरेर आएकामध्ये ३० थान मुद्दा फस्र्योट हुन बाँकी रहेको भन्दै गत आर्थिक वर्षबाट आव २०८०/८१ का लागि ४२९ थान मुद्दा जिम्मेवारी सरेर आएको बताउनुभयो ।
आव २०७७/७८ बाट मुद्दाको प्रकृति अनुसार फरक फरक सुनुवाइ गर्ने प्रणाली लागु भएको छ । सामान्य प्रकृतिको मुद्दामा थोरै समय र विशेष प्रकृतिमा बढी समय निर्धारण गर्ने प्रणाली अनुसार सुनुवाइ गर्ने मुद्दासमेत सबै फस्र्योट भएकाले सरेर नआएको सूचना अधिकारी ढुङ्गानाले बताउनुभयो ।
सूचना अधिकारी ढुङ्गानाले गोरखापत्रलाई भन्नुभयो, “उच्च अदालत पाटन, हेटौँडा इजलासको दरबन्दी अनुसार गत एक वर्षदेखि न्यायाधीशको पदपूर्ति हुन सकेको छैन । सात जना न्यायाधीश दरबन्दी रहेको हेटौँडा इजलासमा हाल चार जना न्यायाधीश रहेका छन् ।”