• ८ कात्तिक २०८१, बिहिबार

जैविक विविधता संरक्षण गर्न अर्थमन्त्री डा. महतद्वारा हरित ऊर्जामा जोड

blog

जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय ‘दिगो वित्त र पूर्वाधार’ सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत ।

गुजरात, साउन १ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय तथा जैविक विविधताको संरक्षण गर्न हरित ऊर्जाको स्रोतका रूपमा जलविद्युत् विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नरस्तरीय ‘दिगो वित्त र पूर्वाधार’ सत्रलाई सम्बोधन गर्दै मन्त्री डा.महतले नेपालको हिमालय क्षेत्रको वातावरणीय तथा जैविक विविधता संरक्षण गर्न हरित ऊर्जाको स्रोत जलविद्युतको विकास गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अनुदान सहायता बढाउनु पर्नेमा जोड दिनुभयो ।

‘‘दिगो विकासको लक्ष्य हासिल गर्न स्रोतको खाडल बढ्दै गएको र यथास्थितिकै प्रयासबाट धेरै देशहरू पछाडि छुट्ने जोखिम रहेको बताउनु हुँदै उहाँले भन्नुभयो,‘ ‘वातावरणीय तथा सामाजिक उपलब्धिको लागि विकास वातावरण तथा शासकीय पक्षलाई एकीकृत गर्नुपर्छ ।’’ 

आगामी पुस्तासमेत आवश्यकता पूरा हुने गरी गुणस्तरीय, उत्थानशील तथा दिगो पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिँदै मन्त्री डा। महतले निर्माण सामग्री, प्रविधि तथा कार्यान्वयन र सञ्चालन विधि सामाजिक र वातावरणीय दायित्वसँग तादात्म्यता हुनुपर्ने एवं विद्यमान सामाजिक तथा वातावरणीय चुनौतीहरूको सम्बोधन गर्दै अझै दिगो भविष्य निर्माण गर्न योगदानको लागि अपिल गर्नुभयो ।

हरित प्रविधिको थप लागत हुने, न्यून आय भएका मुलुक जलवायु परिवर्तनबाट असमानुपातिक रूपमा प्रभावित भएकाले वातावरणीय न्यायका लागि अग्रसर हुन अपिल गर्दै मन्त्री डा. महतले अरूको क्रियाकलापले गर्दा कमजोर मुलुकमा बढी  प्रभाव  परेको हुँदा दिगो वित्तीय प्रवाह सुनिश्चित गर्न आव्हान पनि गर्नुभयो ।

सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैङ्क, एसियाली पूर्वाधार लगानी बैङ्कजस्ता संस्थाहरूको सहभागिता रहेको छ । सम्मेलन भोलि मंगलबारसम्म चल्नेछ ।