• ८ कात्तिक २०८१, बिहिबार

दिगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठुलो चुनौती : अर्थमन्त्री डा.महत

blog

गुजरातस्थित गान्धीनगरमा सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत ।

काठमाडौं, साउन १ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताउनुभएको  छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्नुहुँदै मन्त्री डा. महतले अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती थपेको बताउनुभयो ।

उहाँले स्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको जिकिर गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन बैठकमा उहाँले आह्वान गर्नुभयो ।

सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैङ्क, एसियाली पूर्वाधार लगानी बैङ्क जस्ता संस्थाहरूको सहभागिता रहेको छ ।

बैठकमा मुख्य गरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवम् सुपरिवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ । सम्मेलन भोलि (मङ्गलबार) सम्म चल्ने छ ।