• ८ जेठ २०८१, मङ्गलबार

यो प्रेम (कविता)

blog

वेश्या रचेलको हातमा

थपक्क आफ्नो कान काटेर राखिदिने

म पागल भ्यानगग होइन

आफ्नो सेक्सी हात माथि

पागल, प्रेमी र पेन्टर भ्यानगगले राखेको

रगत चुहिरहेको कान हेर्दै

रचेल चिच्याएकी थिई–

मलाई एउटा इमानदार, बलियो

र मायालु पुरुष चाहिएको थियो

पागल होइन ।


रावणले भगाएर लगेकी सीता खोज्दै

समुद्र पारि लङ्का पुगेर

रावणको हत्यापछि दरबार फर्केर

गर्भवती सीतालाई गलहत्याउने

म मर्यादापुरुष राम पनि होइन ।


कामातुर भएर शकुन्तलालाई

ऋषि आश्रममा भोगेर

दरबार फर्केपछि कामको व्यस्तताले बिर्सेको बहाना गर्ने

अल्झाइमरग्रस्त राजा दुष्यन्त पनि

म होइन ।


न गोपिनीहरूले घेरिएर

राधासँग अलौकिक प्रेममा मस्त

कृष्ण नै हुँ म

न भ्यानगग, न राम, न कृष्ण, न दुष्यन्त

कस्तो प्रेमी हुँ त म ?


म खोजीमा छु ।