• ३१ वैशाख २०८१, सोमबार

एक दिवसीय विश्वकपको खेल तालिका सार्वजनिक

blog

विश्वकप ट्रफी ।

काठमाडौं, असार १२ गते । अन्तर्राष्ट्रिय खेलकुद परिषद् (आइसिसी) ले भारतका आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट–२०२३ को खेल तालिका सार्वजनिक गरेको छ ।

आइसिसीले मंगलबार भारतमा आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म हुने विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । ४६ दिन सम्म चल्ने विश्वकपका खेलहरू भारतको हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनउ, पुणे, बंगलोर, मुम्बई र कोलकातामा हुनेछन् ।

विश्वकपको उद्घाटन खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल अहमदाबादमा खेलिनेछ । १० टोली सहभागी विश्वकपमा लिगमा एक अर्काले खेलेपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

विश्वकपको सबैभन्दा बढी चर्चामा रहने भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादमा हुनेछ । लिग चरणको खेलपछि पहिलो सेमिफाइनल नोभेम्बर १५ र दोस्रो सेमिफाइनल नोभेम्बर १६ मा हुनेछ । फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादमा हुनेछ ।

वर्षा वा अन्य कुनै कारण फाइनल हुन नसकेमा एक दिन ‘रिजर्भ डे’ राखिएको छ । नेपाल भने आइसिसी एक दिवसीय विश्वकप छनोटको सुपर सिक्स प्रवेशबाटै बाहिरिएको छ । एजेन्सी