• ८ मंसिर २०८१, शनिबार

पोखरामा अन्तर्राष्ट्रिय उडान

blog

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छ महिनापछि बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान भयो । चीन भ्रमणमा जानुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सात जना सांसद र फेवातालमा आयोजना गरिएको ‘ड्रागन बोट रेस’ महोत्सवमा सहभागी हुने खेलाडीसहित ८४ जना चिनियाँ लिएर सिचुवान एयरलाइन्सको चार्टर्ड न्यारोबडी ए ३१९ जहाज चीनको छेन्दुबाट पोखरा अवतरण ग-यो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ पोखरा विमानस्थल पुगेर यो उडानलाई स्वागत गर्नुभयो । चिनियाँ सहयोगमा निर्मित विमानस्थल उद्घाटनको छ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडान पनि चिनियाँ विमानकै भयो । यो चीन र नेपालबिच पन्ध्र सय वर्ष पुरानो सम्बन्धको उच्च उडानको विम्बसमेत मान्न सकिन्छ । सँगै पोखरा विमानस्थलमा सफल अन्तर्राष्ट्रिय चार्टर उडानले नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई प्रेरित गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकलाई लक्षित बनाइएको हो । पोखरामा नयाँ विमानस्थल बनाउन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले विसं २०२६ मै गरेको सङ्क्षिप्त अध्ययनका अधारमा २०३२ सालमै जग्गा अधिग्रहण गरेर राखिएको थियो । लामो अध्ययन र प्रयासपछि २०७२ सालमा चीन सरकार र त्यहाँको एक्जिम बैङ्कको एक अर्ब ३७ करोड ८७ लाख ४० हजार चिनियाँ युआन सहुलियत ब्याजदरको ऋण लिएर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालिएको थियो । एक्जिम बैङ्कबाट लिएको ऋणमध्ये २५ प्रतिशतमा ब्याज नलाग्ने सम्झौता छ । बाँकी ७५ प्रतिशत रकम दुई प्रतिशत ब्याज तिर्नु पर्छ । आगामी भदौबाट नेपालले चिनियाँ बैङ्कलाई ऋणको ब्याज तिर्न सुरु गर्नु पर्छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नभएकाले आम्दानीका आधारमा ऋणको ब्याज तिर्न कठिन हुने देखिएको छ । त्यसैले पोखरा विमानस्थलले ऋणको पासोमा पर्नसक्ने चिन्ता विज्ञहरूको देखाउँछन् तर नेपालको प्रमुख पर्यटकीय गन्तव्य रहेको यहाँ आन्तरिक उडानको वृद्धि र नियमित अन्तर्राष्ट्रिय उडान हुनसके विमानस्थल आफैँले सञ्चालन खर्च धान्न सक्ने छ ।

पोखरा पर्यटकीय गन्तव्य भएकाले यो विमानस्थलमार्फत आन्तरिक र विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । पोखरा विमानस्थल चल्न चीन, भारत र अरू देशका पर्यटकलाई सीधा उडानमार्फत पोखरा ल्याउनुपर्ने हुन्छ । भारत र चीनका विभिन्न सहरबाट पर्यटकलाई सोझै पोखरा झार्नु सबैभन्दा बढी सम्भाव्य छ तर विमानस्थल भएर मात्र पुग्दैन, प्रशस्त पर्यटक पोखरा क्षेत्रमा आकर्षित गर्नु पर्छ । त्यसका लागि भारत र चीनका पर्यटकीय सहरमा यो विमानस्थल अनि गण्डकी प्रदेशका पर्यटकीय स्थलको प्रवर्धन, पर्यटकीय गतिविधि, सेवाको विस्तार र स्तरोन्नति जरुरी देखिएको छ तर पोखराबाट आफ्नो देशमा हुने सिधा उडानका लागि भारतले अनुमति दिएको छैन । यथावस्थामा भारतीय पर्यटकलाई सिधा पोखरा उडान गराउन सकिने अवस्था छैन । नेपाल सरकारले आवश्यक कूटनीतिक, राजनीतिक पहलकदमी लिएर पोखरा र भारतीय सहरबिच हवाई सेवा कम्पनीलाई सिधा उडान अनुमति दिलाउन जोड दिनु पर्छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च चाप रहेको अवस्थामा पनि वैकल्पिक प्रयोगमा आउन सक्छ । साथै, यो भारत र चीनका पर्यटकबिच मितेरी लगाउने माध्यम पनि बन्न सक्छ । अर्थात् ट्रान्स–हिमालय बहुआयामिक ‘कनेक्टिभिटी’ सञ्जालको महत्वपूर्ण पक्षका रूपमा पोखरा विमानस्थल सञ्चालन हुन सक्छ । नेपाल, भारत, चीनबिच समन्वयित पर्यटकीय गतिविधिका लागि पनि यो उपयोगीसिद्ध हुन सक्ने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग अनि अन्तर्राष्ट्रिय उडानको सुरुवातलाई दुई देशबिच सम्बन्धको उचाइका रूपमा लिनुभएको छ । अनि नेपाल र चीनबिच ‘कनेक्टिभिटी’को नयाँ अध्याय सुरु भएको नेपालका लागि चीनका राजदूत छन सोङको भनाइ छ । सदियौँदेखि जनस्तरको सम्बन्ध गहिरो बनाउँदै लगेका दुई देशबिच आपसी सहयोग र विश्वासलाई अझ घनीभूत बनाउन यो विमानस्थलको व्यावसायिक सञ्चालनमा पनि चिनियाँ सहयोग अपेक्षित छ । उसले विश्वभर घुमघामका लागि निस्कने आफ्ना नागरिकको थोरै प्रतिशत हिस्सा यता मोडिदिने हो भने पनि पर्यटकीय विमानस्थलको सञ्चालनमा समस्या पर्ने छैन । चीनको महत्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको सदस्यका रूपमा समझदारीमा हस्ताक्षर गरेको नेपाललाई समयमै ऋण चुक्ता गर्न सक्ने क्षमतामा पु-याउन चिनियाँ सहयोग अपेक्षित छ ।