• ८ मंसिर २०८१, शनिबार

उद्धार र राहतमा तदारुकता

blog

गत शनिबार रातिको भीषण वर्षापछिको बाढीपहिरोका कारण पूर्वी नेपालका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर जिल्लामा ठूलो क्षति भएको छ। यी पङ्क्ति लेख्दासम्मको विवरण अनुसार आठ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। बाढीपहिरोले पुलहरू र सडक बगाउँदा मेची राजमार्गलगायत अधिकांश स्थानीय सडक अवरुद्ध छन्। कतिपय सडक सम्पर्कविच्छेद भएका छन्। बाढीपहिरोले सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा निर्माणाधीन र बिजुली उत्पादन गरिरहेका १५ वटा जलविद्युत् आयोजनामा क्षति गरेको छ। प्रभावित क्षेत्रमा वर्षा भइरहेकाले बेपत्ताको खोजी र जोखिममा परेकाको उद्धारमा कठिनाइ भएको छ। सरकारले बेपत्ताको खोजी, पीडितको उद्धारमा गम्भीरतासाथ पहल गरिरहेको छ। स्थानीय तह र प्रशासनसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन भइरहेका छन्। तर मनसुनी वर्षाको सुरुवातमै आएको बाढीले दर्जनौँ घर, बस्ती जोखिममा परेका छन्। पहाडी क्षेत्रको बाढी तराईमा पुग्दा त्यहाँ पनि विपत् आउन सक्ने हुँदा जोखिमको दायरा बढेको छ। 

नेपाल बाढी सूचना केन्द्रले उल्लेख गरे अनुसार पूर्वी नेपालको कनकाई नदीसहित आगामी तीन दिन तमोर र अरुणमा नदीको बहाव उल्लेख्य बढ्ने देखिएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको छ। केही ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ। खोला आसपासका बासिन्दालाई सतर्क रहन मोबाइलबाट एसएमएस सन्देश पठाइएको छ। यो सतर्कताको आह्वान स्वीकार गरी नदी तटीय क्षेत्र तथा खोल्साखाल्सी आसपासका बासिन्दाले जिउधन सुरक्षित राख्ने कार्यलाई प्राथमिकता दिनुपर्ने छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बन्धित मन्त्री तथा जनप्रतिनिधिहरूसहित बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबारै पुग्नुभएको छ। उहाँले पीडितको उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा सबै सरकारी संयन्त्रलाई निर्देशन र स्वयंसेवी सङ्घसंस्थालाई आह्वान पनि गर्नुभएको छ। तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रिज, घरबारविहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासका लागि व्यवस्था मिलाउनु छ। साथै घाइतेको उपचार, सम्भाव्य रोगव्याधिको प्रकोप रोकथाम अनि पीडितको जीविकोपार्जनको बन्दोबस्त मिलाउन आवश्यक छ। 

सरकारले तदारुकताका साथ यी काम गर्ने प्रधानमन्त्रीको भनाइ अनुसार केन्द्र, प्रदेश सरकार र स्थानीय तहले समन्वय र सङ्गतिपूर्ण कार्य गर्नुपर्ने छ।  ढिलो गरी सुरु भएको मनसुन अझै देशव्यापी फैलिएको छैन तर लामो सुक्खापछि मनसुनको पहिलो प्रवेशमै कोशी प्रदेशको पूर्वी जलाधार क्षेत्रमा धेरै मात्रामा वर्षा हुँदा बढी क्षति भयो। सरकारले मनसुन सुरु हुनु तीन दिनअघि जेठ २८ मा मात्रै ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८०’ लागु गरेको थियो तर पूर्वतयारीको कार्ययोजना त्यो क्षेत्रमा औपचारिक रूपमा नपुग्दै मनसुनी विपत् आयो। यसले आगामी वर्षका लागि सन्देश दिएको छ– तीन दिन होइन, तीन महिनाअगाडि नै पूर्वतयारी कार्ययोजना लागु गरिनु पर्छ।

जलवायु तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने अनुमान गरे पनि करिब साढे १२ लाख मानिस प्रभावित हुने प्रक्षेपण विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले गरेको छ। सोही विपत् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकाय अन्तर्गत खोज र उद्धार जनशक्ति, विभिन्न निकाय अन्तर्गत रहेका स्रोतसाधन तथा आवश्यक यन्त्र, उपकरण पनि सातवटै प्रदेशमा तयारी अवस्थामा राखिएको बताइएको थियो। तर मनसुनी जोखिमको पूर्वअनुमान अनुसारको तयारी मात्र पर्याप्त नहुने देखिएको छ। 

अनुमान नै नगरिएका ठाउँका सडक, पुल ध्वस्त हुन सक्ने हुँदा जगेडा बेलिब्रिजको प्रबन्ध ठाउँ ठाउँमा गरिनुपर्ने देखिएको छ। अहिले कच्ची नै भए पनि सडक पुगेका हरेक स्थानीय तह, गाउँमा जेसिबी, बुल्डोजरहरू छन्। सडक विभाग, स्थानीय तह र प्रशासनले इलाका इलाकामा ती उपकरण तैनाथी गरेर विपत्का बेला तत्काल परिचालन गरी सडक सम्पर्क स्थापित गर्ने कार्य प्राथमिकतामा राख्नु पर्छ। योसँगै सूचना प्रवाह पनि उत्तिकै जरुरी हुने हुँदा अत्यावश्यकीय विद्युत् सेवाको निरन्तरता नटुटोस् भनी विद्युत् प्राधिकरण सतर्क रहनु पर्छ। करिब तीन महिना मनसुनी विपत्को जोखिम रहने छ। विपत्का बेला सरकारका तर्फबाट पीडितको उद्धार र राहतका लागि देखाइने तदारुकताभन्दा स्थानीय समुदाय, सङ्घसंस्था, राजनीतिक सामाजिक कार्यकर्ताको परिचालन बढी प्रभावकारी हुने सबैले मनन गर्नु पर्छ।