मेलम्ची, असार २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ । शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –१ अम्बाथानस्थित परियोजना मुहान तथा बाँध क्षेत्रको निरीक्षणमा पुग्नुभएको प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसका बारेमा आवश्यक निर्णय सरकारका तर्फबाट लिइन्छ । थप बजेटको प्रबन्ध गर्छौँ, बजेटको व्यवस्था भयो भने भइपरी आउने काम गर्न सहज हुन्छ ।” प्रधानमन्त्रीले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको बताउनुभयो ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा काठमाडौं पुगेर गृहकार्य गर्ने जानकारी दिनुभयो । उहाँले यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने बताउनुभयो ।
साथै, प्रधानमन्त्री प्रचण्डले मेलम्चीमा आएको बाढीले आसपासका चार सय घर नष्ट भएको र ती क्षेत्रका जनताको भोग्नु परेको समस्याका बारेमा चासो लिनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ । बजेटसँग सम्बन्धित विषयहरूलाई प्राथमिकतामा राखिने छ ।’’ प्रधानमन्त्रीले आफू बाटोमा आउँदा देखेको सडकको दुरावस्थालाई गम्भीरतापूर्वक लिएको बताउनुभयो ।
यसैगरी, निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे व्याख्या गर्नुभएको थियो । सो क्रममा निर्देशक श्रेष्ठले आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे जानकारी गराउनुभएको थियो ।
गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री प्रचण्डले स्थलगत अवलोकन गर्दै आउनुभएको छ । उहाँका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव रहनुभएको छ ।
वि.सं. २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो ।
वि.सं. २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायीरुपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो । वि.सं. २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो ।