तनहुँ समाचारदाता
तनहुँ, चैत १३ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा उल्लेख्य गिरावट आएको छ । सुक्खायामका कारण नदीमा पानीको बहाब घटेपछि केन्द्रको उत्पादन हाल ४२ मेगावाटमा खुम्चिएको हो ।
केन्द्रका प्रमुख कपिलदेव मानजनका अनुसार वर्षा नहुँदा र हिउँ पग्लिने क्रम कम हुँदा मस्र्याङ्दी नदीमा पानीको सतह घटेकाले विद्युत् उत्पादनमा असर परेको हो । केन्द्रमा २३/२३ मेगावाटका तीन वटा टर्बाइन छन् । “नदीमा पानी कम भएपछि दिउँसोको समयमा उत्पादन घट्ने गरेको छ,” उहाँले भन्नुभयो, “तर साँझ र बिहानको ‘पिक आवर’ मा माग धान्न दिउँसो पानी रिजर्भ गरेर अधिकतम विद्युत् उत्पादन गरिरहेका छौँ ।”
मस्र्याङ्दी हिमालबाट बगेर आउने नदी भएकाले चिसो मौसममा तापक्रम घट्दा हिउँ कम पग्लिने र सहायक खोलानाला सुक्ने भएकाले चैत, वैशाखमा उत्पादन घट्छ । जेठ लागेपछि हिउँ पग्लिने दर बढ्ने र वर्षासमेत हुने भएकाले उत्पादन पुनः वृद्धि हुने केन्द्रको अपेक्षा छ । सन् १९८९ मा निर्माण सम्पन्न भएको यस आयोजनाबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।