• १३ चैत २०८२, शुक्रबार

युवा समूहबिच छलफल सुरु

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), चैत १३ गते । संयुक्त राष्ट्र जनसङ्ख्या कोषले युवाको भविष्य मार्गदर्शनका लागि छलफल सुरु गरेको छ । कोषको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा जोडिएका युवाको समूह बनाई छलफल गरेको छ । प्रदेश कार्यालयका प्रमुख राजकुमार ढुङ्गानाले सुदूरपश्चिम युवा विचार समूहले सुदूरपश्चिम प्रदेश सरकार तथा प्रादेशिक युवा परिषद्का रणनीतिक प्राथमिकतामा प्रभाव पार्ने गरी उच्चस्तरीय सुझाव प्रदान गर्ने उद्देश्यले युवा विचार समूहको बैठक अयोजना गरिएको बताउनुभयो । 

समूह छलफललाई सहजीकरण गर्दै प्रदेश प्रमुख ढुङ्गानाले युवाको सहभागिताबाट युवा नेतृत्वयुक्त शासनतर्फ अघि बढ्ने लक्ष्य रहेको बताउनुभयो । वर्षमा तीन पटक सबै प्रदेशमा युवा विचार समूहको छलफल चलाउने र छलफलबाट आएका सुझावलाई कार्यान्वयनका लागि सरकारसमक्ष पेस गर्ने लक्ष्य रहेको छ । प्रमाणमा आधारित नीतिका लागि पैरवी गर्ने, जीवन सिपमा आधारित यौन तथा प्रजनन स्वास्थ्य शिक्षा विस्तार गर्नु र सार्वजनिक सेवालाई युवामैत्री तथा दिगो बनाउने युवा विचार समूहको छलफलको उद्देश्य रहेको छ । 

धनगढीमा बिहीबार आयोजित युवा विचार समूह छलफल कार्यक्रममा वर्तमान युवाका समस्या र १० वर्षपछि युवाको अवस्था के हुने भन्ने विषयमा समूह बनाएर छलफल गरिएको थियो । विभिन्न क्षेत्रमा युवाको सहभागिता, युवाको भविष्य, वर्तमान अवस्था, चुनौतीका विषयमा गहन छलफल गरिएको छ । छलफलमा विभिन्न क्षेत्रबाट सहभागी युवाले आआफ्ना क्षेत्रमा युवाको अवस्था, समस्या, चुनौती र अवसरका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । विशेष गरी डरलाग्दो अवस्थामा बढ्दै गएको लागुपदार्थको दुव्र्यसन, बेरोजगार, विदेश पलायन, लैङ्गिक हिंसा, बढ्दै गएको अपराध मुख्य समस्याका रूपमा औँल्याइएको छ । 

नेपालमा ३६ प्रतिशत युवाको जनसङ्ख्या रहेको छ भने सुदूरपश्चिम प्रदेशमा २२.८ प्रतिशत युवा रहेका छन् । राष्ट्रिय युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषा गरेको छ ।