लिलाधर वली
घोराही, चैत १३ गते । दाङमा कल्भर्ट निर्माणका लागि खनेको खाडलमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० सौडिकुलामा कल्भर्ट निर्माणका लागि खनेको खाडलमा रा २ प ७२६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा घोराही १२ निवासी ३४ वर्षीय बेलबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार घोराहीबाट नारायणपुरतर्फ जाँदै गरेको मोटरसाइकल बिहीबार राति कल्भर्ट निर्माणका लागि खनेको खाडलमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ ।
दुर्घटनामा घोराही–१२ निवासी धनबहादुर घर्ती घाइते हुनु भएको र उहाँको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणकार्य चलिरहेका कारण सडक साँघुरो हुँदा सवारी चलाउदा सावधानी अपनाउन सबैमा प्रहरीले अनुरोध समेत गरेको छ ।