• १३ चैत २०८२, शुक्रबार

‘चुनावका प्रतिबद्धता पूरा गर्छु’

blog

जीवछ यादव

लहान, चैत १३  गते   । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिराहा क्षेत्र नं. १ बाट निर्वाचित बब्लु गुप्ता पहिलो पटकमै संसदीय यात्रा तय गर्न सफल हुनुभएको छ । जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री भएर चर्चामा आएका गुप्ता मन्त्री पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएको थियो ।  

नेपाली कांग्रेसका पुराना नेता रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चौधरीले नौ हजार ७८४ मत प्राप्त गर्नुभएको थियो । 

विद्यार्थीकालदेखि नै सामाजिक काममा सव्रिmय गुप्ता  २८ वर्षकै उमेरमा सांसद बन्न सफल हुनुभयो । जेनजी आन्दोलनमा सव्रिmयतापूर्वक लागेकाले पनि उहाँलाई जनताले सहज रूपमा स्वीकार गरी निर्वाचनमा विजयी बनाए । उहाँले काठमाडौँको सगरमाथा बोर्डिङ स्कुलबाट कक्षा १ देखि एसएलसीसम्मको शिक्षा लिनुभयो । काठमाडौँको एडभान्स माध्यमिक विद्यालयबाट  कक्षा १२ सम्मको पढाइ पूरा गरेपछि विभिन्न सङ्घ संस्थामा आबद्ध भएर सामाजिक काममा सव्रिmय रहनुभयो । उहाँले नोबेल कलेजबाट जनस्वास्थ्य विषयमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।

कोरोना महामारीका बेला पीडित व्यक्तिका लागि क्वारेन्टाइन सञ्चालन, निःशुल्क खाना वितरण, कपडा बैङ्क सञ्चालन जस्ता काममा  सव्रिmय गुप्ताले सामाजिक अभियन्ताको परिचय बनाउनुभएको छ । जेनजी सहिदको सपना र चुनावमा जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बोल्नुभन्दा काम गरेर देखाउँछु  । जेनजी आन्दोलनका सहिदको सपना साकार गर्र्न सदनमा जोडदार आवाज उठाउँछु ।” 

उहाँले निर्वाचन प्रचारप्रसारको समयमा जनताको घरदैलोमा जाँदा सिराहाको खुटी नहर सञ्चालन, ठाडी–नेपालटार सडक निर्माण, ठाडी भन्सार स्तरोन्नति, क्वारेन्टाइन स्थापना, रामकुमार–उमाप्रसाद प्रादेशिक अस्पताल स्तरोन्नति, शिक्षा र स्वास्थ्यमा सुधार, कृषि र पर्यटकीय क्षेत्रको विकास, रोजगारी सिर्जना जस्ता विषय चुनावी एजेन्डाका रूपमा रहेको भन्दै त्यसलाई पूरा गर्न इमानदारीपूर्वक काम गर्ने बताउनुभयो । उहाँले सामाजिक न्याय र सुशासनका लागि निगरानीलाई निरन्तरता दिँदै सदन सकिएलगत्तै निर्वाचन क्षेत्रमा आएर जनताको समस्या समाधानका लागि काम गर्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो, “नेताभन्दा पनि आफ्नो निर्वाचन क्षेत्रका लागि बेटा भएर काम गरिरहने छु ।”