• १३ चैत २०८२, शुक्रबार

दुई प्रधानाध्यापकप्रति असन्तुष्टि, विद्यालयमा तालाबन्दी

blog

स्थानीय अभिभावक तथा युवाहरू ज्ञापनपत्र बुझाउँदै। तस्बिरः सुधा देव

सुधा देव
भारदह (सप्तरी), चैत १३ गते ।
सप्तरीको राजविराज नगरपालिका–१३ स्थित महावीर माध्यमिक विद्यालयमा दुई जना प्रधानाध्यापक कार्यरत रहेकोप्रति असन्तुष्टि जनाउँदै स्थानीय अभिभावक र युवाहरूले बिहीबार दुवै प्रधानाध्यापकका कार्यकक्षमा तालाबन्दी गरेका छन्।

स्थानीयहरूले विद्यालय सुधारको माग गर्दै १२ बुँदे मागपत्रसहित विद्यालय प्रशासन, राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इशरत परवीन तथा सम्बन्धित निकायसमक्ष बुझाएका छन्। वडा अध्यक्षले मागपत्र बुझ्न अस्वीकार गरेको आरोप अभिभावक र युवाहरूले लगाएका छन्। उनीहरूले माग सम्बोधनमा ढिलाइ भए थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

आन्दोलनरत पक्षले विद्यालयमा तालाबन्दी जारी राख्ने, साथै शिक्षा विकास तथा समन्वय इकाइ सप्तरी र राजविराज नगरपालिकाको कार्यालयअगाडि धर्ना तथा अनशन बस्ने घोषणा गरेको छ।

पछिल्लो चार वर्षमा विद्यालयमा भएका निर्माण कार्य, विद्यार्थीलाई वितरण गरिएको खाजा तथा शिक्षकहरूको तलब वितरणमा अनियमितता भएको आशंकामा निष्पक्ष छानबिन र लेखा परीक्षणको माग गरिएको छ। साथै, एक मात्र योग्य प्रधानाध्यापक नियुक्त गर्न, राजनीतिक हस्तक्षेप अन्त्य गर्न, शिक्षकहरूको डिजिटल हाजिरी प्रणाली लागू गर्न तथा विद्यालयको आम्दानी–खर्च सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।

त्यसैगरी अभिभावक, शिक्षक र समुदायको सहभागितामा अनुगमन समिति गठन, योग्य शिक्षक नियुक्ति, विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री तथा आधारभूत सुविधा सुनिश्चित गर्नुपर्ने मागसमेत अघि सारिएको छ।

शिक्षकहरूको कार्यसम्पादन मूल्यांकन गरी लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने तथा विद्यालयलाई सुरक्षित, अनुशासित र विद्यार्थीमैत्री वातावरण बनाउन कडा नियम लागू गर्नुपर्ने माग पनि आन्दोलनकारीहरूको रहेको छ।

विद्यालय सुधार, पारदर्शिता र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ। माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाइने चेतावनीसमेत दिइएको छ।

स्थानीय प्रतीक यादव, सरोजकुमार यादव, सरोज यादव, बलराम यादव, देवन यादव, अनिल यादव, राधेश्याम यादव, बिलित यादवलगायत अभिभावक तथा स्थानीयवासीहरूको उपस्थितिमा तालाबन्दी गरी ज्ञापनपत्र बुझाइएको हो।