• १३ चैत २०८२, शुक्रबार

बाँकेमा मोतिविन्दुका बिरामी बढ्दै

blog

कोहलपुरमा गरिएको निःशुल्क आँखा जाँच शिविरमा सहभागी स्वास्थ्यकर्मीहरू। तस्बिरः सिराज खान

सिराज खान
नेपालगन्ज, चैत १३ गते ।
बाँके जिल्लाका ग्रामीण र सहरी क्षेत्रमा पछिल्लो समयमा मोतिविन्दुका बिरामीको सङ्ख्या बढ्दै गएको देखिएको छ। जिल्लामा समय समयमा आयोजना गरिने निःशुल्क आँखा उपचार शिविरमा मोतिविन्दुका बिरामी बढी देखिने गरेको पाइएको छ।

नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालका अनुसार गत वर्ष बाँकेका विभिन्न पालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा धेरै मोतिविन्दुका बिरामी भेटिएका थिए भने यस वर्ष पनि त्यस्ता बिरामी बढ्दै गएको छ।

कोहलपुर नगरपालिकामा हाल सञ्चालन भइरहेको निःशुल्क आँखा जाँच शिविरमा पनि ठुलो सङ्ख्यामा मोतिविन्दुका बिरामी भेटिएका छन्। तिलगङ्गा आँखा प्रतिष्ठान र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा तीन दिन सञ्चालन भएको शिविरमा ८९५ जनाले सेवा लिएका थिए। तीमध्ये १६९ जना मोतिविन्दुका बिरामी शल्यक्रियाका लागि छनोट गरिएको कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले जानकारी दिनुभयो।

विवरण अनुसार, वडा नं. १५ स्थित नगर स्वास्थ्य प्रवर्धन केन्द्र अकलघरवामा २६६ जनाले आँखा जाँच सेवा लिएका थिए, जसमा १७७ महिला र ८९ पुरुष रहेका थिए। जाँचका क्रममा ४२ जनालाई मोतिविन्दु शल्यक्रियाका लागि छनोट गरिएको थियो।

कोहलपुर नगरपालिका–४ स्थित रझेना स्वास्थ्य चौकीमा ३५५ जनाले सेवा लिएका थिए, जसमा २२५ महिला र १३० पुरुष थिए। यहाँ ६९ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको थियो।

त्यसैगरी, नगरपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २७४ जनाले सेवा लिएका थिए। तीमध्ये १६७ महिला र १०७ पुरुष रहेका थिए, र ५८ जनालाई मोतिविन्दु अपरेसनका लागि छनोट गरिएको थियो।

नगर प्रमुख आचार्यका अनुसार, निःशुल्क आँखा शिविरमार्फत ग्रामीण र सहरी क्षेत्रका आँखासम्बन्धी समस्याग्रस्त बिरामीलाई सेवा प्रदान गर्न तथा उपचारको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कोहलपुरमा निःशुल्क आँखा शिविर आगामी १५ गतेसम्म सञ्चालन हुने छ। शल्यक्रियाका लागि छनोट भएका बिरामीको अपरेसन चैत १६, १७ र १८ गते कोहलपुर नगर अस्पतालमा नि:शुल्क हुने छ।