कृष्ण बहादुर धामी
खलङ्गा (दार्चुला), चैत १३ गते । सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलाले चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट जिल्लाका कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ।
कार्यालयले पोखरी, कुलो, नहर निर्माण तथा खोला किनारमा तटबन्ध निर्माण गरी जमिन जोगाउने काम गरिरहेको छ। यसै वर्षको हालसम्म १०५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। यसअघि नौ हजार ४९२ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको थियो। यस अनुसार जिल्लाको ५२ प्रतिशत अर्थात नौ हजार ५९७ हेक्टर जमिन सिँचाइको पहुँचमा पुगेको छ।
सूचना अधिकारी मदनबहादुर भण्डारीका अनुसार, जिल्ला भित्र खेतीयोग्य २९ हजार ५४४ हेक्टर जमिनमध्ये २९ हजार ९३० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ। चालु आवमा नौ हजार ५९७ हेक्टर जमिन सिँचाइको पहुँचमा पुगेको छ, जस मध्ये ८ हजार ६९६ हेक्टर कुलोबाट र ७९६ हेक्टर पोखरीबाट सिँचाइ भइरहेको छ।
जिल्लाका सबै नौ स्थानीय तहमा कुलो तथा पोखरी निर्माण गरी सिँचाइ सुविधा विस्तारको काम तीव्र गतिमा भइरहेको छ। यस वर्ष डिभिजन कार्यालयअन्तर्गत ५०३ नयाँ योजनाहरु सञ्चालनमा छन्, जस मध्ये १०३ वटा योजना पूरा भई सिँचाइमा लगाइएको छ।
दार्चुलाको कुल जनसंख्या १ लाख ३३ हजार ३१० रहेको छ, जसमा ८४ प्रतिशत जनसंख्या कृषिमा निर्भर छन्। महाकाली, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा तरकारी र नगदेबाली उत्पादन बढी हुन्छ भने अन्य पालिकामा मकै, धान, गहुँ, कोदो, फापर, सिमी, जौँ, उवा, नप्पल लगायतका खाद्यबाली उत्पादन हुने गरेको छ।