रामकृष्ण बोहरा
बागलुङ, चैत १३ गते । देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ, बागलुङको कालिका भगवती मन्दिर परिसरमा लाग्ने ऐतिहासिक चैतेदसैं मेला धार्मिक उत्सव मात्र नभई स्थानीय उत्पादनको बजारीकरणको थलोको रूपमा पनि महत्त्वपूर्ण मानिन्छ।
ग्रामीण क्षेत्रका किसानले वर्षभरि निर्माण गरेका काठ, बाँस र निगालोका घरेलु सामाग्री मेला भर्न आउनेले खरिद गरेर लैजाने चलन छ। मेलामा रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघा र धम्जाका किसानहरूले निर्माण गरेका सामग्री राखिन्छन्। अमलाचौरका चुँदाराले बनाएका काठका ठेकी पनि मेलाका आकर्षक वस्तु हुन्।
परम्परागत घरेलु सीपबाट बनेका निगालोको चोयाबाट तयार डोको, डाली, नाङ्लो, सोली, थुन्से, मान्द्रो, दारका ठेका, कृषि औजार र मनोरञ्जनका डम्फु–मादल जस्ता सामग्रीको व्यापार मेलामा हुने गर्दछ। बागलुङको पहिचान बनेका ठेका, डाला, नाङ्ला, डम्फु र मादल किन्नका लागि गाउँ गाउँबाट सयौं मानिस मेला भर्न आउने गरेका छन्, स्थानीय समाजसेवी दुर्गा आचार्यले बताउनुभयो।

तर, प्लास्टिकका सामग्री बढ्दा स्थानीय उत्पादनको माग घटेको छ। बागलुङ नगरपालिका–११ रायडाँडाका बलबहादुर विकले भन्नुभयो, ‘‘भान्सा र कृषि क्षेत्रमा आधुनिक सामग्री भित्रिँदा कुटो–कोदालो, खुखुरी, खुँडा, झाँगा, बाउसो र हसिया जस्ता औजारको प्रयोग घट्दै गएको छ।’’
अमलाचौरका व्यवसायी प्रेम चुँडाराले पनि आयातित सामग्रीले दारका ठेका खरिद घटाएको बताउनुभयो। पर्वत दुर्लुङका ठेका व्यवसायी मनबहादुर विकका अनुसार, ‘‘बजारमा प्लास्टिक र सिल्भरका ठेका सस्तोमा पाइन्छ, दारको ठेका राम्रो भए पनि महंगो भएकाले उपभोक्ताले कम खरिद गर्छन्।’’
चैत्र शुक्ल प्रतिपदादेखि मन्दिरमा चहलपहल सुरु भए पनि कालिका भगवती गुठी व्यवस्थापन समितिको व्यवस्थापनमा चैत्राष्टमी मेला आयोजना गरिएको छ। देशभरका भक्तजन र आन्तरिक पर्यटक आउने भएकाले मेलालाई विशेष पर्वका रूपमा लिइन्छ। चैतेदसैंमा अनुमानित पाँच लाख जना भक्तजन र पर्यटक मेलामा सहभागी हुने गुठीले जनाएको छ।







