गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १६ गते । स्वयम्भू महोत्सवको मुख्य आकर्षण एकदिने कला प्रदर्शनी बनेको छ । बिजेश्वरी माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीमा नेपाली कला र संस्कृति प्रदर्शनी मात्र नभई युवा र स्थापित कलाकारबिचको संवाद पनि गरिएको थियो । सो कार्यक्रममा विद्यार्थीले बनाएका चित्र, रेखाचित्र, बुकमार्क र अन्य कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
महोत्सवमा राखिएका एकदिने प्रदर्शनीले दीर्घकालीन प्रभाव देखिएको बिजेश्वरी विद्यालयका कार्यकारी निर्देशक प्रकाशमान तुलाधरले बताउनुभयो । प्रदर्शनीले युवा कलाकारलाई आफ्नो काम व्यापक दर्शकसम्म पु¥याउने अवसर दिने तुलाधरको भनाइ छ ।
सो कार्यक्रममा कलाकार मुकेश श्रेष्ठ र सुन्दर लामाले अन्तर्क्रियात्मक कार्यशाला दिनुभएको थियो । उक्त कार्यशालाले सहभागीलाई कलात्मक प्रविधि अन्वेषण गर्न र अनुभवी मार्गदर्शकसँग सिधा अन्तर्क्रिया गर्न अवसर दिने छ । प्रत्यक्ष पोट्र्रेट स्केचिङ र फेस पेन्टिङ जस्ता गतिविधिले प्रदर्शनीलाई जीवित र सहभागी बनाएको थियो । उक्त महोत्सव वैशाख १९ सम्म चल्ने छ ।