गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १६ गते । बर्सौंदेखि अवरुद्ध हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौँडाको हटिया क्षेत्र) को निर्माण सुचारु भएको छ । स्थानीयको मुआब्जा विवादका कारण लामो समय निर्माण अवरुद्ध सो प्रसारण लाइन निर्माण सम्पन्न गराउन पछिल्लो समय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पहल गर्नुभएको थियो ।
मन्त्री श्रेष्ठले यसै साता जग्गाधनी र त्यस क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरी मुआब्जा विवादलाई टुङ्ग्याउनुभएको थियो । टावर निर्माण हुने क्षेत्रका जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि एक साताभित्रै सात वटा टावरको जग खन्ने र कङ्व्रिmटिङ गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको मन्त्रालयले जनाएको छ । सन् २०१२ बाट निर्माण सुरु भएको सो प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा बर्सौंदेखि अलपत्र परेको थियो ।
नेपालको विद्युत् प्रणालीको मेरुदण्डका रूपमा लिइने यस परियोजना सम्पन्न भएपछि विद्युत् आपूर्ति प्रणाली विश्वसनीय हुनुका साथै निर्यातका लागि पूर्वाधार तयार हुने छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको प्रसारण लाइनको लम्बाइ २८८ किलोमिटर छ । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी निर्माण थालिएको थियो ।