नारद कोहार
तौलिहवा (कपिलवस्तु), चैत १३ गते । गुल्मीमा जन्मिनुभएका विक्रमसिंह थापाले २०३७ सालमा महेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेपछि उच्चशिक्षाका लागि उहाँ भारतको बनारस पुग्नुभयो । उदय प्रताप कलेजबाट बिएससी उत्तीर्ण गर्नुभएको हो ।
२०४६ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापाले २७ वर्षे प्रहरी सेवामा जागिर खानुभयो । जागिरे जीवनमा उहाँले हजारौँ सर्वसाधारणलाई ठग्ने युनिटी नेटवर्कको जालो तोड्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । त्यसै गरी तराईमा भूमिगत शैलीमा आतङ्क मच्चाउने अपराधीलाई कानुनको कठघरामा उभ्याउने काममा पनि उहाँले सफलता हासिल गर्नुभयो ।
२०५८ सालमा माओवादी द्वन्द्वका क्रममा नुवाकोटमा एम्बुसमा पर्दा उहाँले आफ्नो कानको श्रवणशक्ति गुमाउनु प¥यो । २०७३ सालमा एसएसपी पदबाट अवकाश पाएपछि थापाले विश्राम रोज्नुभएन ।
विगत डेढ दशकदेखि कपिलवस्तुलाई कर्मथलो बनाउनुभएका थापाले सामाजिक सेवामार्फत राजनीतिमा पाइला टेक्नुभयो । २०७९ को प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका थापा झिनो मतान्तर ५२२ मतले पराजित हुनुभयो ।
२०८२ को प्रतिनिधि सभा निर्वाचनमा रोचक मोड आयो । कांग्रेसबाट जिल्लास्तरबाट नाम सिफारिस भएर पनि टिकट नपाएपछि उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी रोज्नुभयो । कपिलवस्तुका जनताले उहाँको इमानदार छविलाई अनुमोदन गरे र ६२ वर्षको उमेरमा उहाँ संसद्को यात्रा तय गर्न सफल हुनुभयो । उहाँले २७ हजार ६३५ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गर्नुभएको थियो ।
संसद्मा पुगेपछि थापाको एउटै एजेन्डा छ– भ्रष्टाचारप्रति शून्य सहनशीलता । उहाँ भन्नुहुन्छ, “मुलुकमा सुशासन स्थापना नगरेसम्म समृद्धि सम्भव छैन । सुशासनले मुलुकमा समृद्धि ल्याउने हो । सुशासनका लागि कम्मर कसेर लाग्ने छु । कानुनी शासनलाई कडाइका साथ लागु गर्नु नै मेरो प्राथमिकता हो ।” आफूले सडकबाट खेलेको सुशासनको भूमिकालाई अब सदनमा देखाउने उहाँको भनाइ छ । आफूले राजनीतिलाई जहिले पनि सेवाका रूपमा लिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “म राजनीतिलाई सेवाका रूपमा लिन्छु ।
पहिले सामाजिक जीवनको अभिन्न अङ्गका रूपमा शान्तिसुरक्षा र अमनचयन कायम गराउने कामबाट जनतासँग जोडिएको थिएँ, अब राजनीतिबाट जनतासँग अझ नजिक हुन चाहन्छु ।” उहाँले क्षेत्रीय विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिने बताउनुभयो ।