पश्चिम एसियामा युद्ध चर्कंदै गएको छ । यो युद्धको असर अब केवल पश्चिम एसियामा मात्र सीमित रहेन । मानवीय र भौतिक संरचनाको क्षति युद्धको बाह्य देखिने पक्ष भए पनि यो युद्धको अब बहुआयामिक असर क्रमशः सबैतिर देखा पर्न थालेको छ । युद्धको असर अब टाढा/टाढा रहेका विभिन्न मुलुकका मानिसका भात भान्सामा पनि पर्न थालेको छ ।
इजरायली अमेरिकी सेनाद्वारा इरानमा गरिएको सैन्य हस्तक्षेपबारे अब बाँकी विश्व के निष्कर्षमा पुग्दै छ भने यो युद्ध उचित थिएन । किनकि आजको विश्वमा छलफल, वार्ता र मध्यस्थताद्वारा धेरै कुरा हल हुन सकिन्थ्यो । केही समयअघि जेनेभामा सम्पन्न शान्ति वार्तामा इरानले परमाणु हातहतियारका लागि अत्यावश्यक प्रशोधित युरेनियम आधिकारिक विश्व सङ्गठनलाई जिम्मा लगाउन तयार रहेको विषय बाहिर आएको थियो । दुर्भाग्यवश, ओमानद्वारा मध्यस्थता गरिएको त्यो वार्ता निष्कर्षमा नपुग्दै फेब्रुअरी २८ मा इजरायली र अमेरिकी सेनाद्वारा संयुक्त रूपमा इरानमाथि हमला सुरु गरियो ।
इजरायली र अमेरिकाद्वारा गरिएको हवाई हमलाको जवाफमा इरानले गरेको जवाफी कारबाहीमा मध्यपूर्वका सैन्य शिविर, सैन्य पोस्ट, बन्दरगाह, तेल र ग्यास उत्पादन केन्द्रसमेत परेका छन् । इरानको सबैभन्दा ठुलो ग्यास उद्योगलाई समेत निशाना बनाइएको छ । परिणामतः विश्वस्तरमै तेल र ग्यासको मूल्य अकासिएको छ ।
इजरायल र अमेरिकाको संयुक्त सैन्य कारबाहीमा इरानका सर्वोच्च नेता, सर्वोच्च सैन्य परिषद्का सचिव, गुप्तचरमन्त्री, सैन्य कमान्डरसहित हजारौँ गैरसैनिक समेत मारिएका छन् भने दक्षिणी इरानको प्राथमिक विद्यालयका १६० भन्दा बढी बालबालिका र कर्मचारी पनि मारिएका छन् । युद्धबाट इरानमा ३० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । यता लेबनानमा पनि इजरायली हमलाबाट सयाैँको सङ्ख्यामा मानिस मारिएका छन् र दुई लाखभन्दा बढी विस्थापित भएका छन् । यो युद्ध फैलँदै फैलँदै अब क्षेत्रीय युद्धबाट विश्वस्तरतिर बढ्दै गएको छ ।
सबैलाई ज्ञात भएको कुरा हो, पश्चिम एसिया संसारको तेल र ग्यासको मुख्य केन्द्र हो । विकसित, विकासोन्मुख र अल्पविकसित सबै देश यहाँ उत्पादित तेल र ग्यासमा निर्भर छन् । विश्वकै ३१ प्रतिशत तेल र १८ प्रतिशत ग्यास पश्चिम एसियाले पूर्ति गर्छ । एसियाको कुरा झन् बेग्लै छ, एसियाली देशको ५९ प्रतिशतभन्दा बढी निर्भरता पश्चिम एसियाको कच्चा तेलमा टिकेको छ । त्यस हिसाबले हेर्दा पश्चिम एसियाको युद्ध र अशान्तिले इन्धन सङ्कट, इन्धन मूल्यवृद्धि र त्यसबाट अन्य वस्तुको मूल्य र सेवाको उपभोगमा प्रत्यक्ष रूपमा असर पार्ने र मूल्यवृद्धि हुने कुरा स्वतः स्पष्ट छ ।
अहिले देखिएको इन्धन सङ्कट सामुद्रिक मार्गको अवरोधसँग समेत जोडिएको छ । अमेरिकी–इजरायली हमलाको प्रतिवादमा इरानले हर्मुज जलसन्धिमा नाकाबन्दी गरेको छ । त्यसमार्गबाट चल्ने जहाजमाथि मिसाइल आक्रमण हुने गरेका छन् । त्यो असुरक्षाबिच पानी जहाजको आवागमनमा अवरोध सिर्जना भएको छ । यो सबै स्थितिको मूल कारण इरानमा गरिएको अमेरिकी–इजरायली सैन्य हस्तक्षेप नै हो र त्यसको समाधान नभएसम्म भौतिक र मानवीय क्षति, इन्धन सङ्कट, मूल्यवृद्धि र आपूर्ति शृङ्खला निरन्तर प्रभावित भइरहने छ ।
गाजा युद्धमा भएको महाविनाश सबैको मनमा ताजै छ । त्यो घाउ निको हुन नपाउँदै पुनः इजरायल–अमेरिका–इरान युद्ध चर्कनु विडम्बनापूर्ण छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुमाथि अलोकप्रियताका कारण नेतृत्व र पद जोगाउन युद्धको सहारा लिएको आरोप लागेको छ । इजरायलकै उक्साहटमा पुनः अर्को युद्ध सुरु हुनु विश्वमै अप्रिय विषय बन्नु स्वाभाविक हो ।
इजरायलको उक्साहटमा नेतृत्व युद्धमा संलग्न भएकोमा ट्रम्प प्रशासनको संयुक्त राज्य अमेरिकाभित्रै आलोचना मात्र भइरहेको छैन, लामो समय अमेरिकाको ‘प्रति आतङ्कवादी केन्द्र’ को निर्देशकको रूपमा नेतृत्व गरेका जो केन्टले त्यो युद्धमा असहमति जनाउँदै राजीनामा समेत दिइसकेका छन् । आफ्नो राजीमानापत्रमा उनले भनेका छन्; “इरानबाट हाम्रो देशलाई तत्काल कुनै खतरा थिएन, मात्र अमेरिका स्थित इजरायली लबीको दबाबमा यो युद्ध थोपर्नु ठिक छैन । पहिले पनि हामी अफगानी युद्धमा संलग्न भयौँ, जहाँ हाम्रा हजारौँ देशका युवाले आफ्नो अमूल्य जीवन गुमाए । फेरि हामी त्यही दोहो¥याउँदै छौँ, यो युद्धमा इजरायलबाट हामीमाथि धोका धडी भएको छ ।” अमेरिकाका निम्ति एघार लडाइँ लडेका र युद्धमा आफ्नी पत्नीसमेत गुमाएका जो केन्टको उक्त भनाइ मार्मिक छ । त्यसै गरी कैयौँ अमेरिकी सिनेटर एवं तल्लो सदनका सदस्यहरूले समेत युद्धको अमेरिकामा नै चर्को विरोध गरिरहेका छन् ।
ट्रम्प प्रशासनले इरानमाथि गरेको कारबाहीलाई उनका सहयोगी राष्ट्रहरूबाट समर्थन मिलेको छैन । ट्रम्पको पटक–पटकको सहयोगको आग्रहलाई नेटोमा संलग्न राष्ट्रहरूले नै अस्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पले हर्मुज जलमार्गको सुरक्षाका लागि आफ्ना युद्धपोत पठाउन गरेको आग्रहलाई क्यानडा, जर्मनी र बेलायतले अस्वीकार गरेका छन् । अस्ट्रेलिया, जापानले उक्त युद्धमा प्रत्यक्ष/परोक्ष संलग्न हुन विभिन्न कारण दर्शाएर इन्कार गरेका छन् ।
स्पेन, इटाली र आइयाल्यान्ड आदिले पनि युद्धको कडा आलोचना गरेका छन् । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरसले भनेका छन् “यो युद्ध हाम्रो युद्ध होइन, संयुक्त राज्य अमेरिकाले हामीसँग सरसल्लाह गरेर यो युद्ध सुरु गरेको होइन ।” जर्मनीले युद्धको सट्टा वार्ता र कूटनीतिक समाधानमै जोड दिएको छ । त्यसरी समग्रमा मध्यपूर्वमा जुन युद्ध थोपरिएको छ, त्यसको कतै समर्थन छैन बरु त्यसको चौतर्फी विरोध मात्र भएको छ ।
इजरायल–इरान युद्ध र संयुक्त राज्य अमेरिकाको प्रत्यक्ष संलग्नताले क्रमशः सम्पूर्ण विश्वलाई अहिले मानवीय सङ्कटतर्फ धकेल्दै छ, खाडीमा कार्यरत लाखौँ आप्रवासी कामदार युद्ध भयले त्रसित छन् । तिनीहरू अब विस्थापनको चरणमा पुगेका छन् । इन्धनको सङ्कट र मूल्यवृद्धिले युरोपेली देश मात्र नभई नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुक गम्भीर रूपले प्रभावित छन् । पर्यटन क्षेत्र यसबाट नराम्ररी प्रभावित भइसकेको छ । युद्ध लम्बिँदै गएमा चार करोड ५० लाख मानिस छिट्टै खाद्य सङ्कटमा पर्ने प्रतिवेदन विश्व खाद्य कार्यक्रमले दिइसकेको छ । यो सबै स्थितिले गर्दा मध्यपूर्वको वर्तमान युद्ध जारी रहेमा विश्वव्यापी मानवीय विपत्ति निम्तिनेमा सन्देह छैन । वर्तमान युद्धका सन्दर्भमा इरानको भूमिकाका बारेमा पनि केही चर्चा गर्नु सान्दर्भिक हुन्छ । यो युद्धमा इरानले थुप्रै नेता तथा वैज्ञानिक, सैन्य कमान्डर, सिपाही, सर्वसाधारण नागरिकका साथै बालबालिका समेत गुमाएको छ । त्यसबाहेक दक्षिण पारसका ग्यास उत्पादन केन्द्रसमेतका कैयौँ औद्योगिक केन्द्र र थुप्रै अन्य संरचनामा गम्भीर नोक्सानी बेहोरेको छ । जसको पुनर्निर्माणका लागि दशकौँ लाग्ने देखिन्छ । यस किसिमका क्षतिका बिच पनि विश्वका विभिन्न मुलुक र त्यहाँका जनताका सामु ऊ गैरजिम्मेवार हिसाबले प्रस्तुत हुनु उचित हुँदैन । विश्वबाट उसले सहानुभूति त्यतिबेला पाउँछ, जब ऊ जिम्मेवार रूपमा प्रस्तुत हुन्छ ।
इरानका नेताले ‘यो युद्ध हामी लम्ब्याउँछौँ, अब सबै हाम्रो हातमा छ, अमेरिका र इजरायलको हातमा केही छैन’ भन्ने अभिव्यक्ति दिएको पाइन्छ । यसको सोझो अर्थ के हो भने तेल, ग्याससहितका पश्चिम एसियाका विभिन्न देशका औद्योगिक केन्द्रमा बढीभन्दा बढी आक्रमण गर्ने, तिनलाई तहसनहस पार्ने र हर्मुज जलमार्गलाई आफ्नो नियन्त्रणमा राखेर चौतर्फी इन्धन सङ्कट सिर्जना गर्ने रणनीतिमा ऊ लागेको देखिन्छ । अर्थात् ‘आफू त डुबियो, सबैलाई डुबाउँछु’ भन्ने खालको रणनीति उसले अँगालेको छ ।
‘तत्काल वार्ता–संवाद कसैसँग नगर्ने’ भन्ने किसिमको सङ्केत इरानबाट आएको पाइन्छ । यस्तो कठोर रवैयाले इरानलाई पनि कुनै फाइदा पुग्ने छैन । इरानमाथि आतङ्कवादलाई प्रश्रय दिएको आरोप पनि छ । यद्यपि तत्कालको हकमा युद्ध सुरु गर्न इजरायल र संयुक्त राज्य अमेरिका नै बढी जिम्मेवार छन् तापनि इरानले पनि विगतमा आफ्ना प्रोक्सीहरू–हिजबुल्लाह, हुथी र हमासमार्फत विभिन्न मुलुकमा आतङ्क फैलाएको पूर्ण रूपले असत्य होइन । यसमा इरानको संलग्नता नभएको कुरा उसले आफ्नो व्यवहारबाटै प्रस्ट्याउन जरुरी छ । अतः युद्ध लम्ब्याउनु भन्दा वार्ता र कूटनीतिक संवादद्वारा निष्कर्षमा पुग्नुको इरानसामु पनि कुनै विकल्प छैन । किनकि आजको युगमा आतङ्क, प्रतिशोध र युद्धको निरन्तरताले कसैलाई पनि फाइदा पुग्दैन ।
नेपालबाट हामी सबैको अपिल छ कि, अमेरिका र इजरायलले इरानमाथिको सैन्य हस्तक्षेप बन्द गरुन्, इरानले युद्धमा असंलग्न छिमेकीमाथिको आक्रमण बन्दगरी प्रतिशोध र कट्टरताको बाटो त्याग्दै शान्तिवार्ता र संवादमा पुनः संलग्न होस् । यही गर्नु नै विश्व शान्तिका लागि हितकर हुने छ । वस्तुतः युद्ध र आतङ्कलाई अन्त्य नगरुन्जेल संसारका न्यायप्रेमीहरूले आफ्नो आवाज बुलन्द गर्न छाड्नु हुन्न । केवल वर्तमानका लागि मात्र नभई भविष्यका निम्ति समेत सबै देशका सरकार र जनताले यो कार्यलाई निरन्तर अघि बढाउनु पर्छ ।
(सुवेदी साउदी अरबका लागि नेपालका पूर्वराजदूत हुनुहुन्छ ।)