• १३ चैत २०८२, शुक्रबार

आम्दानीको बलियो आधार बन्दै सामुदायिक वन

blog

दिगो वन व्यवस्थापन अन्तर्गत रुख कटान गरिँदै ।

बबई समाचारदाता

बबई (बर्दिया), चैत १३ गते । दिगो वन व्यवस्थापनको अवधारणा लागु भएपछि बर्दिया जिल्लाका सामुदायिक वन अहिले आम्दानीको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुन थालेका छन् । काठ तथा दाउरा बिक्रीबाट पछिल्ला दुई आर्थिक वर्षमा सामुदायिक वनले उल्लेख्य आम्दानी गर्दै स्थानीय विकासमा समेत योगदान पु¥याएका छन् ।

डिभिजन वन कार्यालय बर्दियाका अनुसार जिल्लाभरका सामुदायिक वनले दुई आर्थिक वर्षमा कुल ४९ करोड ६९ लाख ७८ हजार २१८ रुपियाँ आम्दानी गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा १३३ वटा सामुदायिक वनबाट राजस्व सङ्कलन भएको थियो भने चालु आर्थिक वर्ष ०८०/८१ को चैत मसान्तसम्म १०२ वटा वनले आम्दानी गरेका छन् ।

आर्थिक वर्ष ०७९/८० मा मात्र सामुदायिक वनले २३ करोड ७२ लाख ५० हजार ६३९ रुपियाँ आम्दानी गरेका थिए । सोही अवधिमा प्रदेश सञ्चालित कोषमा तीन करोड ६२ लाख ७५ हजार ८५७ रुपियाँ जम्मा भएको थियो । काठ बिक्रीबाट मूल्य अभिवृद्धि कर (भ्याट) बापत ९८ लाख ८८ हजार ४४३ रुपियाँ र आयकरबापत ११ लाख ४२ हजार ७९४ रुपियाँ सरकारलाई प्राप्त भएको तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्ष ०८०/८१ को चैतसम्म काठ तथा दाउरा बिक्रीबाट १३ करोड ९९ लाख ७३ हजार ७३६ रुपियाँ आम्दानी भइसकेको छ । यस अवधिमा प्रदेश कोषमा चार करोड ५५ लाख ७३ हजार ४३५ रुपियाँ जम्मा भएको छ भने दुई करोड ४० लाख ९३ हजार २१९ रुपियाँ राजस्व र दुई लाख ७८ हजार ९५ रुपियाँ आयकर दाखिला गरिएको छ । जिल्लामा रहेका २८२ सामुदायिक वनमध्ये ११० वटा वनलाई दिगो वन व्यवस्थापन प्रणालीमा रूपान्तरण गरिएपछि आम्दानीको दायरा फराकिलो बन्दै गएको हो । वनबाट प्राप्त आम्दानी वन संरक्षण, पूर्वाधार विकास तथा उपभोक्ताको जीवनस्तर सुधारमा खर्च गरिँदै आएको छ ।

ठाकुरबाबा नगरपालिका–३ स्थित खोदाऊ सामुदायिक वनका अध्यक्ष विमला कँडेलका अनुसार काठ तथा दाउरा बिक्रीबाट प्राप्त रकम वन क्षेत्रको संरक्षण, पशुपालनका लागि खोर निर्माण, तालिम सञ्चालन तथा अन्य सामुदायिक विकास कार्यमा लगानी गरिँदै आएको छ । त्यसै गरी नयाँ बिरुवा रोपण, वन क्षेत्रलाई तारजालीले सुरक्षित बनाउने, सडक तथा विद्युतीकरण जस्ता आधारभूत पूर्वाधारमा समेत खर्च भइरहेको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले दिगो वन व्यवस्थापनले वन संरक्षणसँगै आर्थिक लाभ पनि सुनिश्चित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कटान गरिएका रुखको सट्टा पुनः वृक्षरोपण गरी वनलाई हराभरा बनाउने काम पनि सँगसँगै भइरहेको छ ।” बर्दियाका सामुदायिक वन क्षेत्रमा साल, खयर र सिसौ जस्ता बहुमूल्य प्रजातिका रुख प्रशस्त पाइने भएकाले यसको वैज्ञानिक व्यवस्थापनले दीर्घकालीन आम्दानी र वातावरणीय सन्तुलन दुबैमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।