• १५ चैत २०८२, आइतबार

एचआईभी संक्रमितलाई लाञ्छना र भेदभाव नगरौं

blog

रमेश विश्वकर्मा 
गुल्मी, चैत १३ गते।
एचआईभी एड्स संक्रमित व्यक्तिहरुमाथि हुने सामाजिक लाञ्छना र भेदभाव गर्न नहुने बताइएको छ। तम्घासमा स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको एचआईभी/एड्स लाञ्छना तथा भेदभाव न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राख्नुभएको हो।

कार्यक्रमको सहजीकरण गर्दै गुल्मी अस्पतालअन्तर्गतको एआरटी सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी पुष्कर घिमिरेले जिल्लाको एचआईभी संक्रमणसम्बन्धी अद्यावधिक तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँका अनुसार यस जिल्लामा हाल २०९ जना उपचारत रहेका छन्। जसमा महिलाको संख्या उल्लेख्य रूपमा बढी रहेको छ। तथ्याङ्कअनुसार ११९ जना महिला र ९२ जना पुरुष संक्रमित उपचारत छन्।

उहाँले विभिन्न स्थानीय तहमा एआरटी सेवा लिइरहेका संक्रमितहरूको विवरण पनि सार्वजनिक गर्नुभयो। घिमिरेले मुसिकोट नगरपालिकामा ४४ जना, रेसुंगा नगरपालिकामा ३३ जना, गुल्मीदरबार गाउँपालिकामा २१ जना, छत्रकोट गाउँपालिकामा ३६ जना, रुरु क्षेत्र गाउँपालिकामा ४१ जना, मदाने गाउँपालिकामा १९ जना, चन्द्रकोट गाउँपालिकामा २४ जना, इश्मा गाउँपालिकामा २३ जना, धुर्कोट गाउँपालिकामा २५ जना, मालिका गाउँपालिकामा १९ जना, सत्यवती गाउँपालिकामा ४४ जना तथा कालीगण्डकी गाउँपालिकामा ५ जना संक्रमितहरू हालसम्म एम आर टि सेवामा दर्ता भएको जानकारी दिनुभयो।

कार्यक्रममा स्वास्थ्य कार्यालयका मोहन खरेलले एचआईभी÷एड्ससम्बन्धी जनचेतना अभिवृद्धि गर्न जिल्लाका विभिन्न विद्यालयहरूमा अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म १ हजार ९१ जना विद्यार्थीहरूलाई यस विषयमा अभिमुखीकरण प्रदान गरिएको छ, जसले दीर्घकालीन रूपमा भेदभाव न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो। त्यसैगरी रेसुंग नगरपालिका वडा नं.८ का वडाअध्यक्ष निराञ्जन थापा काउछाले एचआईभी संक्रमण आफैंमा घातक रोगभन्दा पनि समाजमा रहेको गलत धारणा र नकारात्मक टिप्पणीले ठूलो समस्या भएको बताउनुभयो।

उहाँले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूमा स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिन आवश्यक रहेको उल्लेख गर्दै संक्रमितहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो। स्वास्थ्य कार्यालयकी प्रमुख पुष्पा थापाको अध्यक्षतामा भएको कार्यक्रमको समापनका अवसरमा श्रीकृष्ण भट्टराईले तालिमबाट सिकेका ज्ञान र सीपलाई समुदायमा विस्तार गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

उहाँले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सके मात्र यस्ता कार्यक्रमको वास्तविक प्रभावकारिता देखिने उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागीहरुले एचआईभी संक्रमितहरूलाई समाजमा समान व्यवहार, सम्मान र अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले जनचेतना अभिवृद्धि, परीक्षणको पहुँच विस्तार, तथा सकारात्मक सोंचको विकासमार्फत मात्र एचआईभीरएड्ससम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरण सम्भव हुने बताएका थिए।