• १५ चैत २०८२, आइतबार

पर्वले राष्ट्रिय एकता सुदृढ बनाउँछः मुख्यमन्त्री बानियाँ

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ।

राममणि दाहाल
मकवानपुर, चैत १३ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली पर्वहरूले सामाजिक सद्भाव, सहिष्णुता र सहयोगको भावना प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको छ।

राम नवमी पर्व २०८२ को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो।

शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता, धर्म र संस्कृतिको संरक्षण तथा जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो। साथै, पर्वहरूले विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक तथा भौगोलिक क्षेत्रका नेपालीहरूबीच आपसी विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावना सुदृढ बनाउने उहाँको भनाइ छ।

हरेक वर्ष चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनका रूपमा ‘राम नवमी’ पर्व धूमधामका साथ मनाउने परम्परा रहिआएको छ। यस दिन भगवान् श्रीरामको विशेष पूजा–अर्चना, व्रत, अनुष्ठान तथा जप–ध्यान गर्ने गरिन्छ। यसो गर्दा भगवद् कृपा प्राप्त भई इच्छित कार्य पूरा हुने जनविश्वास रहेको सन्देशमा उल्लेख छ।

यस दिन देशका विभिन्न स्थानका साथै मधेश प्रदेशको जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्ने गर्दछ।

मुख्यमन्त्री बानियाँले राम नवमी भगवान् श्रीरामको जन्मदिवस मात्र नभई अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा पनि मनाइने बताउनुभएको छ। यस पर्वले राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।

उहाँले प्रदेशभित्रका विभिन्न धर्म, भाषा र संस्कृतिका समुदायलाई आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसरण, संरक्षण तथा संवर्द्धन गर्न बागमती प्रदेश सरकार सदैव अभिभावकत्वको भूमिकामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राम नवमी पर्वले सामाजिक सद्भाव कायम राख्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न तथा समाजवादको लक्ष्य हासिल गर्न सबै नेपालीलाई एकताबद्ध भएर अघि बढ्न प्रेरित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

सो अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।