• १३ चैत २०८२, शुक्रबार

सरसफाइ प्रवर्धनसम्बन्धी प्रतिवेदन सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १३ गते । नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्धन कार्यक्रम मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा उक्त प्रतिवेदन तयार गरिएको हो । 

कार्यक्रममा सुरुको अवस्थादेखि देशव्यापी विस्तारसम्मको यात्रा समीक्षा गर्दै यसको दीर्घकालीन दिगोपनाका सम्भावित मार्गबारे छलफल गरिएको थियो । स्वास्थ्य सचिव डा. विकास देवकोटाले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । सन् २०१४ मा जाजरकोट, बर्दिया, नवलपरासी र म्याग्दी गरी चार जिल्लामा पाइलटका रूपमा सुरु गरिएको कार्यक्रम सफलतापछि नेपाल सरकारले सन् २०१८ मा यसलाई देशव्यापी रूपमा विस्तार गर्ने निर्णय गरेको थियो । त्यसपश्चात् सन् २०२० मा रोटाभाइरस खोपलाई राष्ट्रिय नियमित खोप कार्यक्रममा समावेश गर्ने क्रममा ७७ वटै जिल्लामा विस्तार गरिएको हो । हाल यस कार्यक्रममार्फत वार्षिक रूपमा पाँच लाख ३० हजारभन्दा बढी आमा तथा अभिभावकसम्म पहुँच पुगिरहेको छ । स्वास्थ्य सचिव डा. देवकोटाले देशभर प्रत्येक महिना सञ्चालन हुने १९ हजारभन्दा बढी खोप सत्रमार्फत सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो । उहाँले देशव्यापी विस्तारपछि १५ महिनामुनिका बालबालिकाका करिब १८ लाखभन्दा बढी अभिभावकसम्म समग्र पहुँच पुगेको बताउनुभयो । कार्यक्रम कार्यान्वयनका लागि २४ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ । हरेक तीन वर्षमा पुनर्ताजगी तालिममार्फत उनीहरूको क्षमता अभिवृद्धि गरिँदै आएको छ । कार्यक्रममार्फत १५ महिनामुनिका बालबालिकाका अभिभावकलाई निम्न प्रमुख व्यवहार प्रवर्धन गरिँदै आएको छ । जोखिमपूर्ण समयमा साबुनपानीले हात धुने, पिउनुअघि पानी तथा दुध सुरक्षित बनाउने, खाद्य स्वच्छता अपनाउने, पूर्ण स्तनपान गराउने, शौचालय प्रयोग तथा बालबालिकाको दिसा सुरक्षित व्यवस्थापन गर्ने गरिएको छ । 

परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा. अभियान गौतमले ‘स्वच्छ परिवार, सुखी परिवार’ अभियान अन्तर्गत सञ्चालन हुने  कार्यक्रममा पूर्ण खोप र सबै सरसफाइ सत्र पूरा गर्ने परिवारलाई ‘मोडल परिवार’ का रूपमा सम्मान गरिने व्यवस्था गरिएको बताउनुभयो ।