• १३ चैत २०८२, शुक्रबार

भत्काइयो अनधिकृत संरचना

blog

तारकेश्वर नगरपालिका–११, हिलेडोल क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना बिहीबार भत्काइएको छ ।तस्बिर :कविन अधिकारी

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १३ गते । काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ११ मा अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएको छ । नेपाल प्रहरीको सहयोगमा बिहीबार ती संरचना भत्काइएको हो ।

अनधिकृत रूपमा निर्माण गरिएका टहरा तथा खोला मिचेर बनाइएका संरचना हटाउन यसअघि गरिएको आग्रह बेवास्ता भएपछि प्राधिकरणले डोजर प्रयोग गरेर भत्काएको हो ।

प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले तारकेश्वर नगरपालिकाको महादेव खोलाकिनारमा खोलाको मापदण्ड मिचेर निर्माण गरिएका एघार वटा संरचना भत्काइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कति जनाको घरै परेको छ । कतिको पर्खाल मात्र परेको हो । सरकारी जग्गा जति अतिक्रमण गरेर संरचना निर्माण गरिएको थियो, त्यति भत्काइएको छ ।”

प्राधिकरणले यसअघि सूचना जारी गर्दै अवैध र खोला मिचेर बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरे पनि बेवास्ता गरेपछि प्राधिकरणले बाध्य भएर अनधिकृत संरचना भत्काइएको प्रमुख आयुक्त ढकालले स्पष्ट पार्नुभयो ।