• १३ असोज २०८१, आइतबार

प्राचीन सम्पदाको अध्ययन थालियो

blog

काठमाडौँ, जेठ ३१ गते । सडक विस्तार गर्ने क्रममा बनेपा नगरपालिका वडा नं. १४ भैँसीपाटीमा प्राचीन इँटाको पर्खाल, कुवा, काठ, शिला र ढुङ्गेधारा फेला परेसँगै पुरातत्त्व विभागले त्यसको अध्ययन थालेको छ । 

सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई फराकिलो बनाउने क्रममा सडक मापदण्डमै प्राचीन सम्पदा फेला परेपछि संरक्षणकर्मीले त्यसमा चासो देखाएका छन् । 

सडक विस्तारका क्रममा पुरातात्त्विक वस्तु नष्ट भएको र थप नष्ट हुन सक्ने भन्दै विभागले पुरातात्त्विक वस्तु भेटिएको स्थानमा तत्काल काम रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ । परिपत्रपछि सो ठाँउमा विस्तारको कार्य रोकिएको छ । सडक विस्तारका क्रममा पुरातात्त्विक सम्पदा भेटिएपछि पुरातत्त्व विभाग भक्तपुरका प्रमुख यमुना महर्जनको नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको छ । 

स्थलगत निरीक्षणपछि सो संरचना मध्यकालीन समयको रहेको पुष्टि भएको प्रमुख महर्जनले बताउनुभयो । उहाँले यो पुरानो पदमार्ग भएकाले नेवारी भाषामा सो स्थानको नाउँ नै फल्चाहिटी रहेको जानकारी दिनुभयो । पदमार्गमा पानीको स्रोत भएको ठाउँमा पाटी हुने भएकाले सो स्थानमा पुरानो पाटी, ढुङ्गेधारा र कुवा भेटिएकाले सडक विस्तारका क्रममा ती सम्पदालाई जोगाउन आवश्यक रहेको बताउनुभयो । 

बनेपामा लामो समयदेखि सम्पदा संरक्षणमा क्रियाशील सरोजकाजी श्रेष्ठले सबैको प्रयासले सो सम्पदा जोगाउन सकिने बताउनुभयो । 

विभागका पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटाले प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, ढुङ्गेधारा, प्राचीन काठ र शिलालाई संरक्षण गर्न अनुरोध गर्नुभयो । 

पुरातात्त्विक सम्पदा भेटिएको ठाउँमा डोजर नचलाउन निवेदन दिनुभएका अभियानकर्मी श्रीकृष्ण धिमालले सो क्षेत्र लिच्छविकालीन सम्पदाले भरिएको स्थान भएकाले सो क्षेत्रको थप अध्ययन अनुसन्धान आवश्यक रहेको बताउनुभयो । 

सुर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाका प्रमुख राजेन्द्रमान दासले सो स्थानमा कसरी डिजाइन गरेर अघि बढ्नेबारे सर्वपक्षीय सहमतिपछि भन्न सकिने बताउनुभयो । पुरातत्त्वविद् प्राडा. महेशराज पन्तले काभ्रेपलाञ्चोकमा भेटिएको सम्पदाले सयौँ वर्षको इतिहास बोक्ने भएकाले त्यसको संरक्षणमा राज्यले विशेष भूमिका निर्वाह गर्नु आवश्यक रहेको बताउनुभयो ।