• १३ साउन २०८१, आइतबार

बगर खेती गर्नेलाई कैलारी गाउँपालिकाको शतप्रतिशत अनुदान

blog

कैलालीको कैलारी गाउँपालिकाको कार्यालय । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २३ गते । कैलालीको कैलारी गाउँपालिकाले बर्सेनि बाढी र डुबानबाट प्रभावित हुँदैआएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ । जिल्लामै सबैभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदैआएको गाउँपालिकाले प्रभावित परिवारको दैनिक जीविकोपार्जन सहज बनाउन बगर खेतीमा प्रोत्साहन गरेको हो ।

गत वर्षको बाढीबाट विस्थापित १६ घरपरिवारलाई टेन्टमा बसोबास गराउँदैआएको गाउँपालिकाले खासगरी मोहनपुर, शिवरत्नपुर, हौसलपुर, बैसपुरलगायतका बाढी प्रभावितलाई बगर खेतीमा अनुदान दिएको जनाएको छ । 

बगर खेती गर्ने प्रविधिका बारेमा गाउँपालिकाको विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर इच्छुक किसानलाई खेती प्रणालीको प्रशिक्षण दिने गरिएको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताउनुभयो ।  उहाँले भन्नुभयो “बाढी प्रभावितहरूको आर्थिक अवस्था राम्रो होस् भन्ने उद्देश्यले बगर खेतीका लागि प्रोत्साहन गरेका हौँ । बाढी प्रभावित क्षेत्रहरूमा एकदमै गरिबी छ । आर्थिक अवस्था नाजुक छ । त्यसैले आर्थिक अवस्थामा सहयोग पुगोस् भनेर अनुदानमा बगर खेती गर्न सघाएका हौँ ।”

गाउँपालिकाबाट अनुदान पाएपछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन् । गाविसले उनीहरूलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुको साथै बीउ, मल तथा कृषि विज्ञको सेवा निःशुल्क उपलब्ध गराउँदैआएको छ । अहिले मोहना, घुरालगायतका नदी किनारमा बारेर किसानहरूले बगर खेती गरेको देख्न सकिन्छ । नदी किनारका अधिकांश स्थानहरू बगर खेतीका कारण हरियो देखिएका छन् ।