• २ पुस २०८२, बुधबार

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस हुम्लाद्वारा प्रत्यक्षमा तीन नाम सिफारिस

blog

जीवन बहादुर शाही, जयपति रोकाया र रीता शाही । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, पुस २ गते । नेपाली कांग्रेस हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाबाट सर्वसम्म निर्णय गरेर नाम सिफारिस गरेको छ । जिल्लामा बसेको जिल्ला संसदीय समितिको बोर्ड बैठकले सर्वसम्मत नाम पठाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ जीवन बहादुर शाही, जयपति रोकाया र रीता शाहीको नाम सर्वसम्मत निर्णय गर्दै कर्णाली प्रदेशमा पठाउने निर्णय भए अनुसार पठाइएको कांग्रेस हुम्लाका उपसभापति कैलाश भण्डारीले बताउनुभयो । जीवन बहादुर शाही पूर्वमन्त्री तथा कर्णाली प्रदेशका पूर्व मख्यमन्त्री हुनुहुन्छ भने हाल कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलको नेता समेत हुनुहुन्छ ।

उहाँको नाम सिफारिस गर्न कांग्रेस हुम्लाका तल्लो तहले समेत आग्रह गरेको थियो । यसैगरी जयपति रोकाया पूर्व पार्टी सभापति हुनुहुन्थ्यो भने रीता शाही संविधान सभाको सदस्य हुनुहुन्थ्यो । यसैगरी, फागुन २१ गते हुने प्रतिनिधि सभा समानुपातिकतर्फ ताराबहादुर लामा, बलबहादुर लामा र रम्भा शाही गरी तीन जनाको नाम सिफारिस गरिएको छ ।

यसैगरी, राष्ट्रिय सभातर्फ खुल्लामा पदमबहादुर लामा र महिलातर्फ रंगमति शाही र सविता बुढाको नाम सिफारिस गरिएको छ । समितिले यी नाम सिफारिस गर्नु अघि जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सात वटै गाउँपालिकाका सभापति, वडा सभापतिको संयुक्त बैठक बसालेर सुझाव सङ्कलन गरेको थियो ।