• २१ चैत २०८२, शनिबार

संवैधानिक इजलासको छुट्टै वेब पोर्टल

blog

कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २१ गते । सर्वोच्च अदालतको संवैधानिक इजलासको छुट्टै वेब पोर्टल सुरु गरिएको छ । कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले शुक्रबार वेब पोर्टलको सुरुवात गर्नुभएको हो । संवैधनिक इजलाससँग सम्बन्धित पेसी, महत्वपूर्ण आदेश, मुद्दाको लगत, इजलासका सदस्य तथा कर्मचारीलगायतको विवरण पोर्टलमा समावेश छ । इजलासको अधिकार क्षेत्र र इजलास गठनको अध्ययन प्रतिवेदन पनि पोर्टलमा उपलब्ध छन् । यसअघि यी विवरण सर्वोच्चको वेब पोर्टलमा हेर्ने व्यवस्था थियो । तर संवैधानिक इजलासको मात्र फरक लगत भने थिएन ।   

वेब पोर्टल सुरु गर्दै कायम मुकायम प्रधान न्यायाधीश मल्लले नयाँ चरणको सुधारको सुरुवात भएको बताउनुभयो । इजलासमा विचाराधीन मुद्दालाई अब प्राथमिकतामा राखेर सुनुवाइ अघि बढाउने योजना पनि उहाँले सुनाउनुभयो । मल्लले भन्नुभयो, “अहिले संवैधानिक इजलासमा मुद्दाको प्राथमिकता छैन भन्ने हैन तर अलि फरक तरिकाले अघि बढ्नु पर्छ भन्ने अनुभूति हामीलाई भएको छ । आठ वर्षभन्दा पुराना मुद्दा पनि छन् । संवैधानिक इजलासलाई अब झनै प्राथमिकतामा राखेर बाँकी मुद्दाको फस्र्योट गर्नु पर्छ ।”

पोर्टलमा सार्वजनिक विवरण अनुसार इजलासमा कुल लगत कायम भएका ९१४ थान मुद्दामध्ये ६३८ थान फैसला भइसकेका छन् । विचाराधीन मुद्दाको सङ्ख्या २७६ रहेको छ । उहाँले अबको तीन महिनामा हालको लगतको ३५ प्रतिशतसम्म फस्र्योटको योजना रहेको पनि बताउनुभयो । उहाँले निर्वाचनसम्बन्धी विवादका मुद्दालाई छ महिनाभित्र फस्र्योट गरिसक्ने लक्ष्य रहेको पनि बताउनुभयो । इजलासमा अहिले २०७९ देखिका निर्वाचन विवादका मुद्दा बाँकी छन् । 

कार्यकाल सकिँदासम्म निर्वाचन विवादका मुद्दा फस्र्योट नभएको भन्दै अदालतको आलोचनासमेत हुने गरेको छ । पोर्टलमा संवैधानिक इजलास सुरु भएयता इजलासको नेतृत्व गर्नुभएका प्रधान न्यायाधीश तथा सदस्य न्यायाधीशहरूको विवरण पनि उल्लेख छ । यस्तै संवैधानिक इजलासमा विचाराधीन मुद्दाको प्रक्रियागत अवस्था, दैनिक पेसी तथा फैसलाको अवस्था पनि पोर्टलबाट हेर्न सकिने छ । इजलासबाट सम्पादन भएका महìवपूर्ण फैसलाको विवरण पनि वेब पोर्टलमा उपलब्ध छ । सार्वजनिक पोर्टलमा २०७७ पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको मुद्दामा इजलासबाट भएको फैसला उपलब्ध छ ।