गोरखापत्र समाचारदाता
ललितपुर, चैत २१ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नेपाली सेना, निजामती प्रशासन र कूटनीतिक समुदायसँग आफ्नो सम्बन्ध पूर्ववत् तथा मित्रवत् रहेको स्पष्ट पारेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले समसामयिक राजनीतिक सन्दर्भमा उठेका प्रश्नको समीक्षा गर्दै राज्यका प्रमुख संयन्त्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको हो । बैठकपछि महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्ति अनुसार संविधान र प्रचलित कानुन अनुसार स्थापित नेपाली सेनालगायत सबै सुरक्षा निकाय, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाले संसद्मा व्यक्त गरेको धारणा सम्बन्धमा भएको छलफलपछि पार्टीले आफ्नो औपचारिक दृष्टिकोण स्पष्ट पारेको जनाइएको छ ।
यससँगै बैठकले सरकारका पछिल्ला निर्णयप्रति असन्तुष्टि पनि व्यक्त गरेको छ । सरकारले गर्ने भनिएको विद्यार्थी सङ्गठन खारेजी, ट्रेड युनियनमाथिको प्रतिबन्धलगायत विषयमा आपत्ति जनाएको छ । बैठकले फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्दै सफल बनाउन योगदान प¥याउने सबै पक्षलाई धन्यवाद दिएको छ । साथै बहुमतसहित सरकार गठन गरेकोमा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिइएको छ ।