काठमाडौँ, पुस ३ गते । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत तथा त्रिदेशीय महत्वको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) खण्डको निर्माण निरन्तर अगाडि बढिरहेको छ । गण्डकी प्रदेशको जीवनरेखा मानिने यस कोरिडोरको निर्माणले व्यापार, पर्यटन, जलविद्युत् तथा धार्मिक विकासमा ठुलो भूमिका खेल्ने विश्वास गरिएको छ ।
दक्षिणमा भारतको त्रिवेणी नाकादेखि उत्तरमा चीनको कोरला नाकासम्म जोड्ने यस कोरिडोर खण्डको अहिलेसम्मको कुल भौतिक प्रगति र वित्तीय प्रगति क्रमशः ८५ प्रतिशत र ८१.६ प्रतिशत पुगेको सो आयोजनाले जनाएको छ । भारतको त्रिवेणी नाकालाई चीनको कोरला नाकासँग जोड्ने यस कोरिडोरको कुल लम्बाइ ४३५ किलोमिटर रहे पनि बेनी–जोमसोम–कोरला खण्डको लम्बाइ पर्वतको मालढुङ्गादेखि कोरला नाकासम्म २०२ किलोमिटर छ ।
आयोजनाका प्रमुख तेजश्वी शर्माका अनुसार यस आयोजना अन्तर्गत अहिलेसम्म २०२ किलोमिटर ट्र्याक खोल्ने काम सम्पन्न भएको छ भने ८७ किलोमिटर खण्डस्मित (ग्राभेल) गरिएको छ । त्यसै गरी ८८ किलोमिटर कालोपत्र र १६ वटा पुल निर्माण सम्पन्न भएको छ । यस आयोजनाको कुल लागत १० अर्ब ५७ करोडमध्ये अहिलेसम्म आठ अर्ब २० करोड रुपियाँ (८२ प्रतिशत) खर्च भइसकेको छ ।
उहाँले यस आयोजनाका लागि चालु आर्थिक वर्ष (२०८२/८३) मा सडक निर्माणका लागि ६८ करोड १३ लाख र पुल निर्माणका लागि एक करोड ४५ लाख रुपियाँ रकम विनियोजन गरेको जानकारी दिनुभयो । २०७३ मङ्सिर १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले कालीगण्डकी कोरिडोर अन्तर्गत (बेनी–जोमसोम–कोरला) खण्डलाई छुट्टै आयोजनाका रूपमा स्थापना गर्ने निर्णय गरेको थियो ।
नेपाली सेनाले २०६४ सालमा ट्र्याक खोलेर २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको यो कोरिडोर खण्डलाई कालोपत्र र विभिन्न ठाउँमा रहेका बेलीब्रिजलाई पक्की पुलबाट विस्थापित गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको उक्त आयोजनाले जनाएको छ । यो कोरिडोर खण्डको निर्माण सम्पन्न भएसँगै कोरला नाका थप सहज र तीव्र गतिमा सञ्चालन हुने, बाह्य एवं आन्तरिक पर्यटकको आवागमन बढ्ने र यस क्षेत्रका नदी तथा जलाशयमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको आयोजना प्रमुख शर्माले बताउनुभयो ।
सरकारले पहिलोपल्ट आव २०६८/६९ देखि विभिन्न दृष्टिले महत्वपूर्ण देखिएका १७ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा वर्गीकरण गरेको हो । आव २०७०/७१ मा थप गरिएका चारसमेत गरी अहिले २१ वटा राष्ट्रिय गौरवका आयोजना छन् ।