• ३ पुस २०८२, बिहिबार

विद्युतीय दुर्घटनामा मृत्यु हुने बढ्दै

blog

काठमाडौँ, पुस ३ गते । दुई दिनअघि सप्तरीको जानकीनगरमा विद्युत् पोलमा विद्युत् सर्ट हुँदा नजिकैको घरको मिटरबक्समा समेत विद्युत् सर्ट हुन पुग्यो । घरमा आगो लागेपछि हतारमा निभाउन पुग्नुभएकी एक महिलाको करेन्ट लागेर मृत्यु भयो । 

त्यसको अघिल्लो दिन सप्तरीकै कुखुरा फर्ममा विद्युत् सर्ट हुँदा आगो लागेर चार सय बढी चल्ला मर्नुका साथै फर्म नै नष्ट भयो । देशका विभिन्न सहर तथा गाउँमा जाडो मौसम सुरु भएसँगै विद्युत् सर्ट भएर आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या बढ्दै छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो कात्तिक २५ देखि मङ्सिर २६ गतेसम्मको एक महिनाको अवधिमा देशका विभिन्न भूभागमा विद्युत् सर्टसहित विभिन्न कारणले भएको आगलागीका घटनामा परी आठ जनाको ज्यान गएको छ । आगलागीमा परेर अरू ५५ जना घाइते भए ।

सुक्खा हिउँदमा आगोमा घुर ताप्ने, दाउराको आगो ताप्ने मात्र नभई घरभित्रै हिटर, तातो हावा फाल्ने पङ्खा तथा मकल ताप्ने क्रम पनि बढेको छ । असावधानी अपनाउँदा घरभित्रै पनि विद्युत् सर्ट हुँदा जनधनको क्षति बर्सेनि नेपालमा हुने गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । 

जाडो महिना लागेसँगै विद्युत्को खपत बढ्छ, बढी विद्युत् खपत हुँदा पोलको ट्रान्समिटर, घरको मिटर तथा तारले धान्न नसकेपछि सर्ट भएर आगो लाग्छ र जिउधनको क्षति हुन्छ । उहाँले भन्नुभयो, “विद्युत् सर्ट हुँदा लाग्ने आगलागीमा आगो र विद्युत्को करेन्टसहितको दोहोरो जोखिम हुन्छ, जुन कुरा मानिसले तत्काल बिर्सन्छन् र ज्यान बचाउनुको सट्टा आगो निभाउन जाँदा ज्यानै जाने गर्छ ।”

आफ्नो घरको तारले कत्तिको विद्युत् खपत धान्छ भन्ने कुरा अर्को विषय हो । घर बनाउँदा खर्च कम गर्न सस्तो मूल्यका तार तथा विद्युतीय सामग्रीको प्रयोग गर्दा पनि विद्युत् सर्ट हुने र ज्यान लिने घटना बढ्ने गरेको उहाँले प्रस्ट्याउनुभयो । 

अझ कोठा न्यानो राख्न राती सुत्दा हिटर तथा विद्युतीय उपकरण खोलेर सुत्ने गर्दा पनि विद्युतीय आगलागी बढेको पाइन्छ । विद्युत् खपत बढेपछि विद्युत प्राधिकरणले पहिलेकै तुलनामा विद्युतीय शक्ति दिने चलनले पनि पोलको ट्रान्सफर्मर पड्किने र समुदायको जिउज्यान जोखिममा पर्ने गरेको विगतका घटनाले देखाएको महतले औँल्याउनुभयो । 

तराईमा परालको घुर ताप्दा हावाले उडाएर नजिकका झुपडीमा आगो सल्केर गाउँ नै सखाप हुने गरेका छन् । उहाँले थप्नुभयो, “न्यानो बनाउन महिलाले पछाडि फर्केर घुर ताप्दा फरियामा आगो सल्केर पनि बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् ।” दाउराकै आगो ताप्दा पनि हावाहुरीले उडाएका झिल्कोले सुक्खा झारबुट्यानमा आगो लगेर बस्तीमा आगो लाग्ने जोखिम उस्तै रहन्छ । 

क्षतिपूर्तिमा गुनासो  

कुनै कारणवश आगलागीका घटनामा जिउधन र घरबासको क्षति हुन गएमा अन्य विपत् सरह नै क्षतिपूर्ति र निजी आवास पुनर्निर्माणका लागि राहत तथा क्षतिपूर्तिको व्यवस्था छ । प्रवक्ता महतका अनुसार कुनै प्रकारको आगलागीबाट मृत्यु भएमा प्रमाण पु¥याएर प्रतिव्यक्ति दुई लाख रुपियाँ राहतस्वरूप मृतकका परिवारलाई दिइन्छ । त्यसका लागि सङ्घीय सरकारबाट ५० प्रतिशत, प्रदेश सरकारबाट ३० र स्थानीय सरकारका तर्फबाट २० प्रतिसत बेहोर्ने नीतिगत व्यवस्था छ । निजी आवास पुनर्निर्माणका लागि स्थानीय सरकारको सिफारिसमा हिमाली भेगमा पाँच लाख रुपियाँ, पहाडमा चार लाख र तराईमा तीन लाख रुपियाँ पुनर्लाभका रूपमा दिएर घर बनाउन सघाउने गरिन्छ । भूकम्पको हकमा भने राहत तथा पुनर्लाभको सबै जिम्मा सङ्घीय सरकारमा रहने व्यवस्था छ ।

आगलागीमा परेर ज्यान गुमाएका तथा बास उठेकाले भने सरकारको पुर्नलाभ प्रक्रिया सहज र छिटो नहुँदा समस्यामा पर्ने गरेको गुनासो गर्नुहुन्छ । पुनर्लाभ लिँदा अनेक प्रमाण चाहिने, निजी आवास निर्माण गर्दा किस्ता किस्तमा रकम आउने र त्यो पनि समयमा नआउने र आएको रकमले पूरै घर निर्माण गर्न नसकिने समस्या रहेको पनि पीडितले बारम्बार गुनासो गर्दै आउनुभएको छ । 

क्षतिको असावधानी, लापर्बाही एवं पर्याप्त सचेतनाको अभावका कारण आगलागीका घटना बढेकाले प्राधिकरणले आगलागीजन्य विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न छुट्टै कार्ययोजना बनाउन लागेको प्रवक्ता मतहले जानकारी दिनुभयो । अहिले सरोकारवालासँग परामर्शकै क्रममा रहेको कार्ययोजना छिट्टै सार्वजनिक गरिने उहाँले बताउनुभयो ।