• १५ चैत २०८०, बिहिबार

मलेसियाविरुद्ध दोस्रो खेलमा नेपालको सानदार जित

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ १६ गते । मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले सानदार जित निकालेको छ ।

मंगलबार भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले हरायो । जितसँगै नेपालले सिरिजमा १-१ को बराबरी गरेको छ । नेपाल सोमबार भएको पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो । 

मलेसियाले दिएको ९७ रनको विजयी लक्ष्य नेपालले १७.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अविजित २९ रन बनाउनुभयो ।

यस्तै कविता कुँवरले २६, सीता रानामगरले २३, विन्दु रावलले १७ रन र सम्झना खड्काले अविजित दुई रन जोड्नुभयो । बलिङमा मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९६ रन बनाएको थियो ।मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले सर्वाधिक २८ रन बनाउनुभयो । उनीफ्राई दुरासिंघम र वान जुलियाले २०/२० र हामिजाह हाशिमले अविजित १४ रन बनाउनुभयो । 

बलिङमा नेपालकी कप्तान रुविना क्षेत्रीले दुई विकेट लिनुभयो ।  इन्दु बर्मा र कविता कुँवरले एक एक विकेट झार्नुभयो ।नेपालले अब मलेसियासँग, तेस्रो खेल जेठ १८, चौथो खेल जेठ २० र पाँचौँ खेल जेठ २१ गते खेल्नेछ ।