• १५ वैशाख २०८१, शनिबार

फेरिए छ बयरघारी

blog

विगत सम्झिएर हेर्दा धेरैलाई रमाइलो लाग्छ । सुखको क्षणभन्दा निजी दुःखको विगत सम्झनामा धेरै बस्छ । यस्तै विगतले बढी रोमाञ्च अर्थात् विजयकै अनुभूति दिन्छ । हिम्मतको साथ कठिनाइ पार गरेको सम्झनाले वर्तमानलाई उत्साहित बनाउने रहेछ । त्यतिबेला कहर काट्न कम पीडा हुँदैनथ्यो । जीवनमा केही त्यस्ता पनि घटना हुन्छन्, जसले स्मृतिमा घोचिरहन्छन् । 

यस्तै हुन्छ जीवनको यात्रा । बन्द कोठामा धुमधुम्ती बस्नोस् त्यतिबेला समयले यात्रा मार्छ । बाहिर घुम्नोस् समयमा तपाईं यात्रा गर्नुहुन्छ । यात्रा समयले गर्छ कि मान्छेले गर्छ । समय रोकिँदैन, मान्छे छेकिन्छ । घुमाइ रोकिन्छ । 

घुमाइ सबै सम्झनलायक हुन्छन् । घुमाइ छोटो पनि हुन्छ । लामो पनि हुन्छ । वरिपरिको पनि घुमाइ हुन्छ तर यात्रा अलि लामो घुमाइको अर्थबोधमा ट्याक्क मिल्छ । कुनै कुनै यात्रा चाहिँ बढी अविस्मरणीय हुन्छन् । यस पटक त्यस्तै भयो । 

शुक्रबारको दिन थियो । बिहान गाडीभित्र बसेको केही मिनेटको गुडाइपछि थाहा भयो हामी स्याङ्जाको सिरुबारी जाँदैछौँ । कतैकतै दुई चार मिनेटको विश्रामबाहेक रिजर्भमा लगिएको जिपगाडी चालकको इसारमा गुडिरहेछ । गफगाफ त हुने नै भयो । सल्लाह मसबिरा पनि चल्ने नै भयो । झन्डै बाह्र घण्टाको सफर पूरा गर्नुपर्ने ।  बिहान ७ देखि बेलुका ७ बजेसम्म । काठमाडौँबाट सिरुबारी  । 

दुई घण्डा जतिको बाटो बाँकी थियो । अघिदेखि धुम्मिएर ढुस्सिएको आकाश रसाउन थाल्यो । पिच भत्किएर कतैकतै काँचो भएको बाटो हिलो भयो । हिलो चिप्लो हुनै नै हो । क्रमशः अँधेरी बढ्यो । बदलीले अँध्यारो थपेकै थियो । सिरुबारी हेर्ने आँखाको लालसा अँध्यारोमा खुम्चियो । पर्खाइ भोलि बिहानको उज्यालो थियो । 

सिरुबारी केही होइन । केही हो पनि । मान्छेले पहिचान दिएको सिरुबारी । यहाँ पुग्दा क्याप्टेन रुद्रमान गुरुङलाई नचिन्ने कोही हुँदैन । सम्पूर्ण रुद्रमान नचिने पनि सिरुबारी र रुद्रमान एकअर्काको पहिचान भएको सबैले चिन्दा रहेछन् । यो नचिने सिरुबारीको यात्रा अधुरै हुने रहेछ । 

यहाँको बखान पहिल्यै सुनेको, पढेको तर मैले देखेको चाहिँ पहिलो यस पटक । होमस्टे (घरबास) पर्यटनको पहिलो संस्थापक नेपाली गाउँ सिरुबारी । जसको प्रथम प्रणेता क्याप्टेन रुद्रमान गुरुङ । प्रोत्साहन दिने नेता गिरिजाप्रसाद कोइराला । 

यो तथ्यले भन्छ– नेपालमा होमस्टे पर्यटनको कुरा गर्दा श्री गणेश सिरुबारीबाट हुन्छ । इतिहास कोर्दा रुद्रमानको अथक गाथा सारथि भेटिन्छ । त्यसपछि नेपालमा होमस्टेको समय आएको उद्बोध गर्न सकिन्छ । 

सिरुबारी केही होइन । यसरी हेर्दा नेपाली पहाडी गाउँजस्तै एउटा गाउँ हो दरौँसिरुबारी । स्याङ्जा जिल्लामा पर्ने दक्षिण फर्किएको गाउँ । उही चौध, पन्ध्र सय फिट उचाइको सानो पेरिफेरीमा बसेको गाउँ । चिठेका ढुङ्गासम्म, टकटकाउँदो सफा । बाटोघाटो सुग्घर । घर, आँगन सफा । ससाना बारीका टुक्रामा हरिया सागपात । कतै बन्दागोबी, कतै काउली फूल । मटरकोसा, धनिया । यो मौसममा यस्तै थियो । 

अलि ठूला गरा, बारीहरू खनजोत गरेर सम्याइएका । मलिलो, सम्म सफा देखिने । त्यहाँ मकै वा यस्तै तरकारी केही छरिएको थियो । ती उम्रने तरखरमा । पिँढीमा सजाइएका गमलामा फूल ।

थाहा छैन रुद्रमानले देख्नुभएको होमस्टेको सपना त्यहाँ ठ्याक्कै छ कि छैन ? वा कति छ ? तर केही त अवश्य छ । होमस्टे छ । व्यवस्थापन छ । उहाँकै सपना अझै ज्युँदो देखिन्छ त्यहाँ । सुविधाको खोजीले होमस्टेमा केही आधुनिक साजसज्जा घोलिएको पनि लाग्छ । घरबासका लागि नम्बर लेखिएका घर । हामी बस्यौँ चौध नम्बर घरमा । जुन घर नै होमस्टेका द्रष्टा रुद्रमान गुरुङको रहेछ । घरको भित्तामा थुप्रै तस्बिर टाँगिएका । सैनिक पोसाकमा सजिएका  । एउटा तस्बिर नेता गिरिजाप्रसाद कोइरालासँगै क्याप्टेन रुद्रमान, सँगै उहाँकी जीवन साथी । नेता कोइराला सिरुबारी पुग्दा खिचिएको तस्बिर ।  

सिरुबारी होमस्टेको सञ्चालन यतिबेला उहाँकै बुहारी उर्मिलाजीको नेतृत्वमा जारी छ । यहाँको व्यथा पनि उस्तै, नेपाली गाउँघरको जस्तै । तरुना, तन्नेरी प्रायः सबै बाहिर विदेश वा नेपालका अरू सहर बजारतिर । केही गाउँमा । उर्मिलाजीकै श्रीमान् पनि विदेशमा । अहिले उही बूढापाकाको  नेपाली  गाउँबस्तीजस्तै सिरुबारी । साना केटाकेटी देख्नै मुस्किल । 

हप्तामा दुई दिन सांस्कृतिक कार्यक्रम हुने । नाचगान । शुक्रबार साँझ हामीलाई यो  सुअवसर मिल्यो । यात्री धेरैसँग चिनजान गरियो । त्यही कार्यक्रममा पाल्पा तानसेनका झपेन्द्र गैह्रेसँग पनि आँखा जुध्यो । अनायास भेटले रमाइलो थपियो । सिरुबारीभन्दा होचो देखिने । गहिरो खोँच पार गरेर पर्तिर डाँडा थुम्कीमा दरौँ गाउँ रहेछ । उत्तर फर्किएको । यी गाउँ आमने सामने । गाउँबेँसीजस्ता । त्यसैले भनिने रहेछ दरौँसिरुबारी । 

यस पटक तनहुँको दमौलीबाट पृथ्वी राजमार्ग छोड्यौँ र पस्यौँ व्यासमार्ग । नयाँ बाटो । उत्तरतिर मादी नदीको किनार किनार कलेस्ती, दोभान हुँदै पाथ्रामा खाजा बिसौनी भयो । गाडी गुड्यो । पोल्याङ हुँदै । साहित्यकार पुष्पलताको गाउँ । कुरैकुरामा अघि देखाएको पुल कटेर अलि पर हुइर्किंदै गर्दा फर्किएर उही पुलतिर आउनुपर्ने भएछ । 

फेदी बेगनास तालको किनार । तालचोक कटेर चाउथेमा साथी वासुदेव भण्डारीलाई सँगै मिसायौँ । अब यात्रा चार जनाको भयो, चालकसमेत । यो बाटोको दुवैतिर घना हरियाली । कतैकतै मात्र गाउँले बस्ती । मसिना पसल, बजार । फाट्टफुट्ट मात्रै गाडी भेटिने । 

शनिबार बिहान डा. केदारनरसिंह केसीको सम्मान कार्यक्रम रहेछ । छाती रोग विशेषज्ञ डा. केसीले क्षयरोग (टीबी)को निदान, उपचार र चेतना विस्तारमा गर्नुभएको योगदानप्रति सम्मान रहेछ । नेपाल क्षयरोग निवारण सङ्घले आयोजना गरेको साधारणसभा । भव्य सम्मान कार्यक्रममा सहभागी भयौँ र फर्कियौँ पोखरा । यो कार्यक्रम हुने कुरा आधाबाटो काटेपछि मैले स्पष्ट बुझेँ । यसअघि म फगत एक सहयात्री थिएँ । कुनै कार्यक्रमको सहभागी होइन । 

फर्किंदा बयरघारी, जहाँ खाना खायौँ । उहिले बनारस जादाआउँदा बास बसेको झुप्रे बयघारीको चित्र सम्झना यस पटक फेरियो । बयरघारी त ठूलो बजार भएछ । पक्की घरैघर र स्थानीय गण्यमान्य सहर भएछ । 

सिरुबारीबाट ओरालो । कच्ची गेग्रान बाटो । वनजङ्गल । न्याउलीको बिरह लाग्दो बिलौना । चराको चिरबिर । सिमसिम पानी  । घट्टे र सहरे खोलाको दोभान । काँचो बाटो उकालो । गाडीले तान्नै सकेन । थचक्कै रोकियो । उक्लिँदै, उक्लिँदैन । तान्दै तान्दैन । निर्जन ठाउँ । बस्ती छैन । जङ्गल छ । सहरको फोहर थुपारेरे पोल्ने ठाउँ । मसान घाट । केहीपर गयौँ म र भण्डारीजी । पानी दर्कियो । एकैछिन सानो ओडारमा ओत लाग्नै प-यो । 

अघि भर्खर मोटरसाइकलमा हुइँकिँदै हाँस्दै उछिन्ने दुई भाइ त्यही घट्टे उकालो तरेर उभिएका । यिनको गाडी उक्लिन सक्दैन । यिनलाई रेस्क्यु गर्नुपर्ने सोचेछन् कृष्ण ढकाल र वेदप्रसाद रिमालले । यी दुईको विवेक र मानवीय गुणले हामी दङ्ग भयौँ । उनीहरूले नै ट्याक्टर बोलाइदिए । तर पुरानो डोरी । मसिनो तार । के तान्ने गाडी । तीन पटकसम्म चुड्यो । 

चौथो पटक डोरीले अलिअलि तान्ने, पछिल्लो चक्कामा ओट राख्दै गाडी धकेल्न थाल्यौँ । मुस्किल पार भयो । ती साथीले नै बलेरोका यात्रु र पैदल आएकालाई हारगुहार गरे । गाडी धकेल्न । यहाँबाट अर्जुनचौपारी करिब तीन किलोमिटर पर । हाल उनीहरू त्यहीँका व्यवसायी बासिन्दा रहेछन् । गाडी धकेल्नेमध्येका एक रेशम देवकोटालाई पनि सँगै त्यो चौपारीसम्म ल्यायौँ । उनले राजनीतिक असन्तुष्टिको गुनासो गरे । घट्टे छेउको झाडीमा ऐँसेलु पाकेका पहेँला केही दाना पनि भेटिए ।

वालिङ पुग्न दुई घण्टा ढिलो भयो । प्रजातान्त्रिक विचार समाजका साथीहरू पर्खिएर बस्नुभएको रहेछ । साथै नेपाली काँग्रेस स्याङ्जाका सभापति केदार काफ्ले, प्रदेश सांसद्द्वय भोजराज दाइ र कल्पना तिवारी पनि पर्खी बस्नुभएको । उहाँहरूले विचार समाजलाई गम्भीर रूपमा लिनुभएको लाग्यो । समाजको जिल्ला शाखाले पारेको प्रभाव पनि होला । कार्यक्रम असाध्यै राम्रो भयो । 

आइतबार बिहान पोखरा र दिउँसो दमौलीमा विचार समाजको त्यस्तै भव्य र गम्भीर कार्यक्रम सम्पन्न भयो । तीनवटै जिल्लामा मुलुककी राजनीति, संविधान र समाजको विषयमा साथीहरूबीच गम्भीर अन्तर सम्वाद गरियो । फर्कंदा पोखरादेखि मध्यपहाडी लोकमार्गबाट दमौली पुगेका थियौँ । यात्रा असाध्यै सुखद र उपलब्धिको रह्यो । तर दुःखदचाहिँ काका राधामोहन वाग्ले बित्नुभएको खबरले भयो । त्यही दिन उहाँको अन्तिम बिदाइ भएछ । अबेला भयो । देख्न पाइनँ । भाइ, सानीआमाहरू र कमल काकालाई भेटेर फर्किएँ । 

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष पनि हुनुहुन्छ डा. केदारनरसिंह केसी । कहिल्यै नथाक्ने मान्छे । गाडीमा बस्न इसारा गर्नुभयो । बसेँ । चिया खाने शैलीमा निस्केको म पुगेँ सिरुबारी । हरमाभन्दा परमा केही थिएन । सुखद यात्रा । सुखद अनुभूति र सुअवसर मिल्यो । घट्टेखोलाको उकालो गाडी धकेल्दा हिलाम्य पाइन्ट, जुत्ता । धोइपखाली गर्नैप¥यो । फर्किएर सम्झिँदा पार गरेको त्यतिबेलाको घट्टे खोलाको हिले कठिनाइ पनि आहिले त रोमाञ्चक पो लाग्छ  ।