• २२ कात्तिक २०८२, शनिबार

बिहारसँग जोडिएका नाका ७२ घण्टा बन्द हुने

blog

शशिधर पराजुली
विराटनगर, कात्तिक २२ गते ।
कात्तिक २५ गते (नोभेम्बर ११) बिहार विधानसभाका लागि हुने दोस्रो चरणको निर्वाचनका लागि भारतको बिहार राज्यसँग जोडिएका नेपाली सीमा नाकाहरु शनिबार साँझ ६ बजेदेखि मङ्गलबार साँझ निर्वाचन सम्पन्न नसकिँदासम्म बन्द हुने भएको छ ।

अररिया जिल्लाका जिल्ला अधिकारी र प्रहरी अधीक्षकले संयुक्त रूपमा आदेश जारी गर्दै नाका बन्द रहने सूचना जारी गरेको हो । निर्वाचन सुरक्षाका लागि नेपाल तर्फका प्रशासकहरुसँगको संयुक्त बैठकले सहयोगका लागि नाका बन्द गर्न सहमति जनाएको सूचनामा उल्लेख छ ।

खुला रुपमा प्रयोग भइआएको सीमा नाका बन्द भए पनि अत्यावश्यक कार्य तथा यात्रा प्रयोजका लागि भने सम्बन्धित निकायको स्वीकृतिमा सीमा पार गर्न भने बाधा नहुने सूचनामा उल्लेख छ ।

सीमा बन्द रहने अवधिमा अररिया, फोर्बिसगन्ज, नरपतगञ्ज, जोकिहाट, सिकटी र पलासी क्षेत्रका नाकामा कडा निगरानी राखिने छ । स्थानीय प्रशासनले निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न दुबै देशका नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ ।

दोस्रो चरणमा हुन लागेको बिहार विधानसभा निर्वाचनमा २० जिल्लाका सात करोड ४२ लाख मतदाता सहभागी हुँदैछन् । दोस्रो कचरणमा नेपालसँग सीमा जोडिएका र त्यसको नजिकमा पर्ने जिल्लाहरु पश्चिम चंपारण, सीतामढी, शिवहर, मधुबनी, सुपौल, अररिया, किशनगंज, पूर्णिया, कटिहार, भागलपुर, बाँका, जमुई, नवादा, गया, औरंगावाद, जहानाबाद, अरवल, कैमूर र रोहतास जिल्लामा निर्वाचन हुनेछ ।