अमेरिका निवासी छोरा ईशानबाट ‘हजुर र ममीको भिसा निवेदन पेस गरेको छु’ भन्ने खबर प्राप्त भएपछि, खुसी नहुने कुरै थिएन । अन्तर्वार्तालगत्तै तत्काल भिसा लागेको खबर दिइयो । हाम्रो भिसा लाग्नु दुई दिनअघि परिवारमा नाति रिसान खरेलको आगमन भएको थियो । “बुवाममी नातिको मुख हेर्न र घरको अवस्था बुझ्न अमेरिका आउनु पर्छ,” छोरा ईशान र बुहारी श्रद्धाको अनुरोधसँगै २०८२ वैशाख ५ मा अमेरिकातर्फ उड्यौँ ।
कोरियन एयरबाट म, श्रीमती लता केसी र नातिनी सदीक्षा सिटौला दक्षिण कोरियाको सिओलतर्फ लाग्यौँ । छ घण्टाको उडान समयमा काठमाडौँबाट आकाशमा देखिने रमणीय दृश्यको अवलोकन सम्झनायोग्य रह्यो । सुकिला, सुन्दर र शालीन व्यवहारका धनी एयर होस्टेजले यात्रुलाई कठिनाइ अनुभव गर्न नदिँदै सियोल उत्रियौँ ।
कोरियाबाट अमेरिकाको ड लास पुग्दै गर्दा मानचित्रमा देखाइए अनुसार भूगोलका चित्रहरू मेरा आँखामा लामो समयसम्म नमेटिने गरी कैद भएका छन् । झन्डै १९ घण्टाको यात्रापछि रिसानको देश अमेरिकाको ड लास हवाई मैदानमा उत्रियौँ । ढोकैमा छोरा ईशानले हामीलाई स्वागत ग¥यो । हामी निवासतर्फ लाग्यौँ । बाटोमा अमेरिकी सरकारले गरेका कर्मका दृश्यहरूले मनमा बलियो प्रभाव पार्दै गएको थियो ।
अमेरिकी सरकारले मुलुकको शासनप्रणाली व्यवस्थित गर्न ५० राज्यमा देशलाई बाँडेको रहेछ । सङ्घ, राज्य, काउन्टी हुँदै सिटीसम्म शासनप्रणालीको व्यवस्था रहेछ । डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ नाराले मलाई नेपालमै छँदा प्रभावित पारेको थियो । देश र जनताप्रति जिम्मेवारी बोध गर्ने राजनेताले जगाउने सपना र अवलम्बन गर्ने मार्ग र कार्य यही हो । यात्रामा निस्केपछि हामी अझ प्रभावित भयौँ । एकै ठाउँको उचाइमा चार तहसम्मका सडकमार्ग, सडकमार्गका ठाउँ ठाउँमा केन्द्रीय सरकार र राज्य सरकारका फहराइएका झन्डाले मन तान्ने नै भयो । अपेक्षा रह्यो, मेरो देशमा पनि यस्तो व्यवस्था भए हुन्थ्यो ।
रिसान पहिलो नाति । अमेरिकामा जन्मेको हुँदा अमेरिकाको नागरिक भएको छ । अमेरिकी सरकारले उसलाई पासपोर्ट उपलब्ध गराएको छ । नेपाल आउँदा उसले भिसा लगाएर आउनु पर्छ ।
प्रथमतः अमेरिका भ्रमण छोराबुहारी र नातिसँगको भेटका साथै विश्वको शक्तिशाली देश अमेरिका बुझ्न थियो । समय मिलाएर पहिलो चरणमा टेक्सास राज्यका विभिन्न स्थान घुम्यौँ । छोराबुहारी पाँच वर्षदेखि अमेरिका बस्दै आएको हुँदा स्थान विशेषको जानकारी र दृश्यावलोकनका लागि सहज अवस्था रह्यो ।
ड लासको केन्द्र भाग डाउन टाउन अत्यन्त आकर्षक रूपमा उभेको भेटियो । आकर्षक डिजाइनमा निर्माण भएका आलिसान भवनका अग्रभागको साजसज्जा देख्दा मनमा ईष्या जाग्यो र अलि अलि ग्लानीसमेत भयो । डाउन टाउनका बिच भागमा नागबेली आकारमा बगेको ‘ट्रिनिटी नदी’ मा बनेको ‘मार्गरेट हन्ट हिल ब्रिज’ र नजिकै रहेको ‘क्लाइड वारेन पार्क छाड्न मन लागेको थिएन तर छाड्न बाध्य थियौँ, साँझ ढल्किसकेकाले हामी घर फर्र्कियौँ ।
अमेरिकाका ५० राज्यमध्ये महत्वपूर्ण राज्यको भूमिकामा उभेको टेक्सास वातावरणीय दृष्टिमा हरियालीयुक्त रहेको पाइयो । यस पटक हामी टेक्सासको राजधानी अस्टिन सहरस्थित विभिन्न पौराणिक, धार्मिक, ऐतिहासिक, स्थलको भ्रमणमा निस्क्यौँ । अस्टिनतर्फ जाँदै गर्दा इटास्का क्षेत्रमा रहेको विशाल कृषियोग्य जमिनमा मकै, गहुँ र अन्य खाद्यान्न बालीको सौन्दर्यताले त्यसतर्फ खिच्ने नै भयो । झमझम पानी कै बिचमा टेम्पल औद्योगिक क्षेत्रको भव्यता अवलोकन गर्दै टेक्सासको राजधानी अस्टिन प्रवेश ग¥यौँ । त्यहाँ अवस्थित पौराणिक, ऐतिहासिक एवं आधुनिक भव्यताले मनलाई नखिच्ने अवस्थै थिएन ।
राजनीतिक, आर्थिक र आणविक तिनै पक्षमा विश्वमा शक्तिशाली राष्ट्रका भूमिकामा उभेको अमेरिकाको इतिहास आफैँमा जीवन्त, आकर्षक र प्रभावशाली रहेको अनुभूत गर्दै हामी टेक्सास क्यापिटोलतर्फ लाग्यौँ । टेक्सास राज्यको सदन भवनको भूमिकामा उभेको यो क्यापिटोल पुरानो सभ्यतासहित आकर्षक डिजाइनमा बनेको अनुभूत भयो । अवलोकनमा भवनभित्रका मन लोभ्याउने दृश्यहरू, अमेरिकाको इतिहास निर्माणमा अहम् भूमिका खेल्ने व्यक्तित्वका तस्बिर हेर्न आँखा थाक्ने अवस्थै थिएन । भवनभित्र एक भव्य र आकर्षक हलमा टेक्सास राज्यको सदन सञ्चालनमा थियो । सदन सञ्चालनका दृश्य हे¥यौँ । प्रक्रिया र व्यवस्था नेपालमा झैँ रहेको अनुभूत ग¥यौँ ।
‘दी टेक्सास क्यापिटोल’ को अवलोकनपछि सानएन्टोनियातर्फ लाग्यौँ । बाटोका रमाइला घमाइला भव्य दृश्यले मन तान्ने नै भयो । अमेरिकाकै ठुलो र आकर्षक पर्यटकीय क्षेत्रमा गनिने सानएन्टोनियास्थित ‘रिभर वर्क’ मा हाम्रो यात्राकै रमाइलो र अविस्मरणीय क्षण रह्यो । पुरानो र आधुनिक दुवै सभ्यता बोकेर उठेको यो सहरको मुख्य आम्दानी पर्यटन रहेको जानकारी पायौँ । पत्याउन मुस्किल वास्तविकतालाई आँखाभरि राखेर, मनभरि बाँधेर त्यहीको एक होटेलमा मेक्सिकन खाना खायौँ ।
हाम्रो यात्राको गन्तव्यमा परेको अर्को महत्वपूर्ण स्थान थियो, विश्वविख्यात पर्यटकीय क्षेत्र ‘सी वल्ड’ र ‘एक्युटिका’ । अमेरिकन आर्मीमा कार्यरत भतिजो निसानले उपलब्ध गराएका प्रवेश पास बोकेर त्यसतर्फ लाग्यौँ । मानव निर्मित अनेकन पक्षका खेल हेर्न र अनुभव गर्न सकिने अवस्था विद्यमान थिए, सो हे¥यौँ ।
भोलिपल्ट बिहान १० बजे घर फर्कियौँ । बाटोमा पर्ने ‘राधाकृष्ण धाम’ को दर्शन ग¥यौँ । पहाडी भूमिमा अवस्थित जङ्गलका बिचमा रहेको ‘राधाकृष्ण धाम’ का दृश्यले मनलाई लोभ्याउँदै थियो । समयको चापमा बाँधिएको हुँदा हामी अघि बढ्यौँ । केही समयको अन्तरालमा समथर भूमिबाट केहीमाथि उठेको ठाउँमा अवस्थित ‘ओसिस’ होटेलमा खाना खायौँ । होटेलको तलको एक भागमा रहेको विशाल तालले पोखराको फेवातालको स्मरण गरायो । सो तालमा छाया छाड्दै सूर्यअस्त हुँदै गर्दा घन्टी बजाउने परम्परा रहेको जानकारी भयो ।
न्युयोर्क सहरको सुन्दरता नियाल्न ‘भ्यान्डर बिल्ट टावर’ मा चढेर हेर्ने व्यवस्था रहेछ । एक हजार सय फिट उचाइको ९३ औँ तलाबाट अवलोकन गर्दै गर्दा लगभग सम्पूर्ण न्युयोर्क देखिएको अनुभव भयो । विश्वको प्रख्यात ‘एम्पायर स्टेट विल्डिङ’ को कलात्मकताले दर्शकको मन नखिच्ने कुरै भएन । न्युयोर्कको झन्डै आधा भाग ‘हड्सन’ नदीले फन्का मारेको दृश्यको भौगोलिक अनुभव अझ फरक रह्यो । न्युयोर्कको मध्य भागमा रहेको ‘वल्र्ड ट्रेड सेन्टर’ को शालीनता र कलात्मकताको अनुभव फरक रह्यो । सन् २००१ सेप्टेम्बर ११ मा विन लादेनको नेतृत्वमा ध्वस्त पारिएको ‘वल्र्ड ट्रेड सेन्टर’ का टुइन टावरमध्ये एक टावर निर्माण गरिएको रहेछ । न्युयोर्क र न्युजर्सीको सीमा छुट्याउँदै बने ‘हडसन’ नदीको जलयात्राको अनुभव अझ फरक रह्यो । विशाल आकारमा बग्ने सो नदीका बिचमा अवस्थित ‘लिवर्टी स्मारक’ ले सबैको मन खिचेको देखियो । न्युयोर्ककै ‘ज्याक्सन हाइट’ ले नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तानलगायतका सभ्यता, रहनसहन, उठबसका भौतिक अवस्था अटाएको भेटियो ।
‘हडसन’ नदीको विशालतालाई आँखामा कैद गर्दै विशाल पुल पार गर्दे न्युजर्सीतर्फ लाग्यौँ । न्युजर्सी पनि अमेरिकाका अन्य राज्यमाझ प्रतिस्पर्धामा उभेको अनुभव बटुल्दै जङ्गल र कृषियोग्य क्षेत्र छिचोल्दै यात्रा अघि बढ्दै विश्वविख्यात हिन्दु मन्दिर
‘अक्षरधाम’ ले तान्यो । यस धामको बाहिरी भित्री दुवै संरचनाले मान्छेको मन नलोभ्याउने कुरै भएन । अन्ततः न्युयोर्कबाट हिँडेको करिब पाँच घण्टाको यात्रापछि वासिङ्टन डिसी प्रवेश ग¥यौँ ।
बाटोका अत्यन्त आकर्षक र मन लोभ्याउने दृश्यको अवलोकन गर्दै ह्वाइट हाउस पुग्यौँ । दृश्यावलोकनमा केही क्षण रमायौँ । भौतिक उचाइले भन्दा विचार, सभ्यता र आर्थिक अवस्था र स्थितिले शक्तिको प्रभाव आर्जन गर्ने बोध ह्वाइट हाउस हेर्दा अनुभव भयो ।
ह्वाइट हाउससँगै रहेको संवैधानिक लाइब्रेरी पार्क विशाल आकारमा फैलिएर रहेको भेटियो । अर्कातर्फ पार्ककै एक भागमा रहेको ‘अब्राहम लिङ्कन मेमोरियल स्ट्याचु’ ले अमेरिकाको ऐतिहासिक गौरवलाई सगर्व बोकेर उभिएको अनुभव गर्न सकिने अवस्था विद्यमान रह्यो । इतिहासका गौरवलाई संरक्षित राख्दा नै वर्तमान सजीव रहन्छ, जिम्मेवारी बोधमा उभिन्छ भन्ने ज्ञानको बोध गर्दै वासिङ्टनबाट भर्जिनियातर्फ लाग्यौँ । त्यस दिनको बास भर्जिनियामा बसोबास गर्दै आउनुभएका आफन्त कृष्ण जोशीको आतित्थ्यता ग्रहण गर्न त्यतै लाग्यौँ ।
भर्जिनियाबाट भोलिपल्ट बिहान सबेरै न्युयोर्कतर्फ लाग्यौँ । बाटोमा पर्ने मेरिल्यान्ड राज्यको बाल्टिमोरलगायत सहरका रमणीय दृश्यलाई आँखा र मनमा कैद गर्दै साँझ १० बजे न्युयोर्कको ब्रङ्समा एमडी पढ्दै गरेकी छोरी आस्ना भण्डारीकोमा बास बस्न पुग्यौँ र भोलिपल्ट टेक्सास फर्कियौँ ।
अन्ततः अमेरिकाको गर्विलो इतिहास र जीवन्त वर्तमानलाई मनमा बाँधेर टेक्सासको ड लासबाट कतारको दोहा हुँदै नेपाल फर्कियौँ । नेपाल फर्कंदै गर्दा अमेरिकाका विभिन्न स्थानको स्मरण हुने नै भयो । मेरो देश पनि अमेरिका जस्तै सभ्य, शालीन, विकसित र व्यवस्थित भए हुन्थ्यो भन्ने अपेक्षा राख्दै आफ्नै गुँडमा बास बस्न भदौ १८ गते काठमाडौँ आइपुग्यौँ ।