काठमाडौँ, वैशाख ३० गते । निर्देशक सुदिप्तो सेन निर्देशित चलचित्र ‘दी केरला स्टोरी’ हिन्दु केटीहरूको कथित धर्म परिवर्तन र कट्टरपन्थीको वरिपरि घुमेको छ। चलचित्र केरलाका तीन युवतीको सत्य कथामा आधारित छ। अनुसन्धान अधिकारीहरूमाझ घेरिनुभएकी फातिमा उर्फ शालिनी उन्नीकृष्णन (अदा शर्मा) ले आफ्नो डरलाग्दो र पीडादायी विगत सुनाउँदै चलचित्रको कथा सुरु हुन्छ। मानिसहरू आइएसआइएसमा कसरी पुग्छन् भन्ने कुरालाई चलचित्रले व्याख्या गर्न खोजेको छ।
चार छात्रा केरलाको कासरगोडको नर्सिङ स्कुलमा भर्ना हुन्छन्, जहाँ शालिनी आफ्ना साथीहरू गीताञ्जली (सिद्धि इदनानी), निमा (योगिता बिहानी) र असिफा (सोनिया बलानी) सँग एउटै कोठामा मिलेर बस्छन्। शालिनी, गीताञ्जली र निमा आसिफाको दुष्ट मनसायबाट पूर्णतया अनभिज्ञ छन्।
वास्तवमा आसिफाको भित्री मनसाय आफ्ना साथीहरूलाई उनीहरूको परिवार र धर्मबाट टाढा राखेर इस्लाममा परिवर्तन गर्ने हुन्छ। यसका लागि उनले आफ्ना दुई नक्कली भाइको सहारा लिएर कस्तो जाल बनाउँछिन् भने ती साथीहरू कट्टरपन्थी बन्छन्। उनीहरूको दिमागमा अनेकन कुरा गरेर ड्रग्स दिइन्छ, परिवारप्रति घृणा र धर्मप्रति अविश्वास जगाइन्छ। यति मात्र होइन, शालिनीलाई आफ्नो प्रेमको जालमा फसाउने रमिजले उनलाई गर्भवती बनाउँछन्। समाजको डरका कारण शालिनीले इस्लाम धर्म स्वीकार गर्छिन्, अज्ञात व्यक्तिसँग विवाह गर्छिन् र भारत छोडेर पाकिस्तान र अफगानिस्तान हुँदै सिरिया भाग्छिन्। शालिनीका लागि अगाडिको यात्रा झनै डरलाग्दो हुन्छ। यिनै विषयमा पिल्सिएको कथा हो, ‘दी केरला स्टोरी’ ।
चलचित्रका निर्देशक सेन आफ्ना पात्रहरूमार्फत डर र त्रास उत्पन्न गर्न सफल हुनुभएको छ। युवाको सोच परिवर्तन गरिदिने र उनीहरूलाई आतङ्कवादको खाडलमा डुबाउनु एकदमै गम्भीर विषय हो, तर चलचित्रमा यसको प्रक्षेपण भ्रामक देखिन्छ। चलचित्रमा युवतीहरूको मानसिकता परिवर्तन गर्न धेरै प्रयास गरिएको छ।
चलचित्रमा भएका हिंसात्मक र बलात्कारका दृश्यले कमजोर हृदय भएकालाई चिसो पार्न सक्छ। विभिन्न समुदाय र विचारधाराका मानिसको भावनामा चोट पु-याउने यस्ता संवाद चलचित्रभित्र पनि धेरै छन्। चलचित्रको सम्पादन भने कमजोर देखिन्छ। प्रशान्तनु महापात्राको छायाङ्कनमा केरलादेखि अफगानिस्तानसम्मको संसारलाई निकै राम्रोसँग देखाइएको छ। चलचित्रमा अदाको काम प्रशंसनीय छ। साथीको भूमिकामा योगिता बिहानी, सिद्धि इदनानी र सोनिया बलानीले न्याय गर्नुभएको छ तर उहाँहरूको अभिनयमा पूर्णताको कमी छ।